मर्जरमा गएका बैंकलाई पुषभित्रै एकीकृत कारोबार गर्न परिपत्र

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले १० वटा बैंकलाई परिपत्र गरेर पुस मसान्तभित्रै एकीकृत कारोबार गर्न निर्देशन दिएको छ । अधिकांश बैंकले मर्जरको प्रारम्भिक सम्झौता गरे पनि एकीकृत कारोबारमा अझै नगएका कारण केन्द्रीय बैंकले कडाई गर्न लागेको बुझिएको छ । 

अन्तिम समयमा आएर मर्जर भाँडिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवृति नदोहोरियोस् भन्ने हिसाबले पनि राष्ट्र बैंकको परिपत्र आएको आकलन गरिएको छ ।हालसम्म नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, हिमालयन बैंक र सिभिल बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू, प्रभु बैंक र सेञ्चुरी बैंक तथा कुमारी बैंक र एनसीसी बैंकले मर्जर सम्झौता गरेका छन् । 

नियामक संस्था राष्ट्र बैंकले मर्जरको प्रक्रिया अवरुद्ध नगर्न र हिमालयन र इन्भेस्टमेन्ट बैंकको झैं अन्त्यमा आएर नभाँडियोस् भन्ने उद्देश्यले सबै सम्झौता गरेका १० वटै बैंकलाई परिपत्र गरेको हो । परिपत्रमा ‘सैद्धान्तिक सहमति प्राप्त गरिसकेपछि मनासिव माफिकको कारण सहित यस बैंकबाट स्वीकृति नलिई आफू खुसी प्राप्ति प्रक्रिया भंग गर्न पाइने छैन, भन्ने उल्लेख गरिएकाले पनि राष्ट्र बैंक सहमति नभाँडियोस् भन्नेतर्फ सतर्क रहेको बुझ्न सकिन्छ । 

यसरी नियम विपरीत आफू खुसी गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया भंग गरेमा विद्यमान ऐन नियम र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५(४) बमोजिम कारबाही गरिने चेतावनी राष्ट्र बैंकले दिएको छ।