राष्ट्रिय बीमा कम्पनीको नाफा घट्यो

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय बीमा कम्पनी को नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म कम्पनीले ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको तुलानामा १३.२५ प्रतिशतले कम हो ।

तुलनात्मक रुपमा हेर्दा कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । आँकडाका हिसाबले ८२ लाख रुपैयाँले यव आर्थिक वर्षको नाफामा कमी आएको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्कमा भने ११४.८९ प्रतिशतको बढोत्तरी भएको देखिएको छ । यसरी बढेको बीमाशुल्क १५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । तरर बीमाशुल्क बढेर मात्र खुद नाफालाई धनात्मक बनाउन भने पर्याप्त नभएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यसबाहेक कम्पनीले पुनर्बीमा कमिशन बापत ७ करोड ८४ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । तर यी सबैले पनि नाफालाई बढाउन सकेको देखिँदैन । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

यस्तै जगेडा कोषमा ३ अर्ब ३१ करोड २१ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको वार्षिक प्रति सेयर आम्दानी अर्थात् इपीएस २० रुपैयाँ २० पैसा छ । यस्तै प्रति सेयर नेटवर्थ १,३७९ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो ६३३.१८ गुणा रहेको विवरणले देखाएको छ ।