नेशनल लाइफको नाफा ३५ प्रतिशतले बढ्यो

-



     सफल आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सको नाफा ३५ प्रतिशतले बढेको छ । कम्पनीले हालै सार्वजनिक गरेको यो वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो अवधिमा कम्पनीले ११ करोड ७१ लाख मुनाफा कमाएको छ । यो मुनाफा बीमांकीय मूल्यांकन गर्नु अघिको आँकडा हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा भने ३५.०१ प्रतिशत वृद्धि गरी ११ करोड ७१ लाख रुपैयाँ कमाउन सफल भएको हो ।

यसै अवधिमा कम्पनीले मुनाफा मात्र नभई खुदा बीमाशुल्क पनि ४ अर्ब १८ करोड १० लाख रुपैयाँ कमाएको छ । यो आँकडा पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२५ प्रतिशतले बढी भएको विवरणले देखाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यसबाहेक यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड २५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ८८ करोड २५ लाख रुपैयाँ र बीमालेख धितोमा ८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरी १७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ७७ करोड २५ लाख रुपैयाँ रहेको तथ्याङ्क छ । कम्पनीले जीवन बीमा कोषमा ५३ अर्ब ७७ करोड ६ लाख रुपैयाँ तथा महाविपत्ति कोषमा ३६ करोड १० लाख रुपैयाँ सञ्चित राख्न सफल भएको छ ।

यो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी अर्थात ईपीएस ११ रुपैयाँ ६१ पैसा रहेको विवरणले देखाएको छ । यसैगरी प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ ०९ पैसा र मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो ४६.६८ गुणा रहेको पाइएको छ ।