सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा घट्यो

-



     सफल आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ मंसिर । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको खुद नाफा घटेको छ । हालै कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो आँकडा आर्थिक वर्षको यहि अवधिको तुलनामा ५.६५ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

हालको समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ३०.१५ प्रतिशतको बढोत्तरी भएर ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यसबाहेक कम्पनीले पुनर्बीमा कमिशन बापत ९ करोड ३५ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रहेको छ । यो अवधिमा कम्पनीको जगेडा कोषमा २४ करोड २७ लाख, बीमा कोषमा १ अर्ब २० करोड ९९ लाख र महाविपत्ति कोषमा ९ करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको विवरणले देखाएको छ ।

यो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी अर्थात् ईपीएस १५ रुपैयाँ ९२ पैसा, प्रति सेयर नेटवर्थ २२० रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो ३४.१४ गुणा रहेको पाइएको छ ।