स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित


काठमाडौं, ५ मंसिर । ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाइसकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे ।

नेपालमा समेत विदेशी ओटिटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरुपमा खर्च गर्न मिल्नेगरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै आएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाए पछि  बन्द नै भए ।

नेपालमा सन् २०१५ देखि सुरू भएको एप सिनेमाघरका प्र्मुख कार्यकारी अधिकृत सागर खरेलले नेपाली दर्शकलाई युट्युबमा निःशुल्क कन्टेन्ट हेर्ने बानी लागेकाले डिजिटल प्लेटफर्मको विकास नहुन सकेको बताए । “हामीले सुरुआती समयमा चलचित्रको अधिकार लिएर निःशुल्करुपमै एपमा देखाउने गरेका थियौँ । दर्शकलाई फिल्म हेर्ने बानी बसेपछि न्यूनतम शुल्क लिन थालेका हौँ”, उनले भने, “अहिले यसको सुरक्षा प्रणाली चुस्त बनाउनाका साथै दर्शकले खोजिरहेको चलचित्र ल्याउने तयारीमा छौँ ।

सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बानीको विकास भइरहेको बताए । “नयाँ फिल्म र ओर्जिनल कन्टेन्टको तयारी हामीले गरिरहेका छौँ । दर्शकको आकर्षण बढ्दै गएपछि हामीले पनि कन्टेन्ट बढाउन थालेका हौँ”, उनले भने ।

गत कात्तिक २४ मा एपमा रिलिज भएको ‘कबड्डी ४ : द फाइनल म्याच’ ले प्रयोगकर्ता बढाउनाका साथै एक्टिभ पनि गरिएको  प्रमुख कार्यकारी अधिकृत खरेलले बताए । “हाम्रो ५० हजारभन्दा बढी प्रयोगकर्ता बढेको छ भने सक्रिय हुनेको सङ्ख्या धेरै भएर सर्भर नै क्याससमेत भएको थियो । यो फिल्मको आम्दानी कुनै युट्युबले दिनेभन्दा बढी छ । कुनै समय एक सय दर्शक नपाइने एपमा केही समययता दैनिक एक हजारको हाराहारीमा फिल्म हेरिरहनुभएको छ”, उनले भने ।

आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा जोखिम रहेको बताए । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको बताए । “हामीले पाइरेसी रोक्ने अनेक सुरक्षा अपनाएका हुन्छौँ तर पाइरेसी गर्नेलाई कडा कारवाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन्”, सञ्चालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उनीसहितको टोलीले ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शक माँझ पुर्याइरहेको छ ।

अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको र पाइरेसी गर्नेलाई सहजै पत्ता लगाउन सकिने बताए । “पाइरेसीसम्बन्धी शिक्षाको कमिले नै यस्तो भइरहेको छ । पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ”, उनले भने ।

डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्डले  नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गरिरहेको सदस्य फडिन्द्र कटवालले बताए । ‘कबड्डी ४ : द फाइनल म्याच’ ले गरेको कमाइको विवरण र अन्य केही नयाँ फिल्म रिलिजबारे छिट्टै जानकारी गराउने सिनेमाघरका प्रमुख कार्यकारी अधिकृत खरेलले जानकारी दिए ।