कोरोनाका सक्रिय संक्रमित घट्‍ने क्रममा निरन्तरता

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित


काठमाडौं, ६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर र एन्टिजेन विधिमार्फत् १ हजार २८६ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८९० जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा तथा ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पाइएको हो । उक्त अवधिमा देशभरबाट २० कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आजको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ३ सय ९० मा आइपुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ४ हजार २६० जनाले कोरोनाविरुद्धको खोप लगाएकाको तथ्याङ्क प्राप्त भएको छै । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।