माथिल्लो डोल्पामा रोकिएका कर्मचारीको उद्धार गर्न आग्रह

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित



डोल्पा, ७ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी फर्कनने साधन नहुँदा रोकिएका छन् । उनीहरुको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धका २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था रहेकाले डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनका अनुसार मङ्सिर ४ गतेको निर्वाचनका लागि उनीहरुलाई हेलिकप्टरमै ती मतदान केन्द्रमा पुर्याइएको थियो ।

“गएको आइतबार सम्पन्न निर्वाचनका लागि डोल्पामा ५ सय ११ कर्मचारी खटिएका थिए,” उनले भने, “२२ केन्द्रमा खटिएकामध्ये तल्लो क्षेत्रका केही कर्मचारी फर्किए पनि १२ मतदान केन्द्रमा खटिएका १ सय ३५ कर्मचारी थुनिएका छन् ।” आज बिहान हेलिकप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

उक्त क्षेत्रमा हिउँ परेकोले चिसो पनि बढ्दै जाँदा केही कर्मचारी बिरामी भएको खबर आएकोले उनीहरुको छिटो उद्धार गर्नुपर्ने उनको भनाइ छ । कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उनले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताए ।

उनका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा समेत जनशक्तिको अभाव हुनेछ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका– १ कोवासस्थित शहीद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण ५ कर्मचारी बिरामी परेको जानकारी दिए ।

कर्मचारीलाई चिसोका साथै खान र बस्न पनि समस्याका भएको छ,” उनले भने, “समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा बढेको छ ।” उनीहरुलाई टाउको दुख्ने, वाक्वाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहोराले जनाए ।

उनका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चिसोका कारण रोकिएका छन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले आज बिहान डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकप्टरबाट ल्याइएपछि बाँकी कर्मचारी ल्याउने तयारी भएको तर हुम्ला प्रदेश सभा २ मा एक सय ३६ मतपेटिका ढुवानीका लागि गएकोले अलपत्र कर्मचारीको उद्धार हुन नसकेको बताए । त्यसको लागि पहल भइरहेको पनि उनले जानकारी दिए।