‘रैथाने भोजन सप्ताह तथा मःम जात्रा’ मंसिर १० गतेदेखि नेपासा भोजनगृहमा हुने

-



     आरजू विष्ट सल्यानी    
     मंसिर ७ गते २०७९ मा प्रकाशित


पोखरा, ७ मंसिर । पर्यटनको विकास र प्रवर्धनका लागि पोखरा महानगरपालिका वडा नं १७ मुस्ताङचोकस्थित हिमाली टोलमा रहेको नेपासा भोजनगृहमा मंसिर १० गतेदेखि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ ।

नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी चिनाउने र त्यसलाई प्रवर्धन गर्ने उदेश्यसहित स्थापना भएको नेपासा भोजनगृहको चौथो वार्षिकोत्सवको अवसरमा सो सप्ताहव्यापी रैथाने भोजन तथा मःम जात्रा आयोजना गर्न लागिएको कर्याक्रमका संयोजक तथा पाकशास्त्री कुश बहादुर भुजेलले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

भुजेलले स्थानिय रुपमा उपलव्ध हुने खाद्यान्न लगायतका वस्तुको सहदुपयोग गर्दै स्वरोजगारको सृजना र सामाजिक रुपान्तरणमा सहयोग पुग्ने लक्ष्य लिईएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले यहाँ आउने विदेशी पर्यटकहरु प्रकृति, संस्कृति तथा साहसिक गतिविधिका लागि आउने गरेको पाइन्छ । पर्यटनको राजधानी पोखरामा पर्यटकहरु प्राकृति संग-संगै नेपाली कला संस्कृतिमा रमाएको पाइन्छ । यसलाई थप प्रबर्द्धन गर्न यहाँको रैथाने खानालाई पनि पस्कन सक्नुपर्ने आजको आबश्यकता देखिन्छ । विविध संस्कृतिका साथै कृषिउपज, यहींकै खाद्यवस्तु तथा आतिथ्यतामा उनीहरुले चासो लिने भएकोले विशेष ध्यान दिन आवश्यक भएको रेग्मीले बताए । हरेक देशको परिचय त्यहाको कला संस्कृति, रहन सहनले मात्र नभएर त्यो देशको खाना तथा आतिथ्यताले पनि थप प्रभावकारी बनाउन सक्ने भएकाले स्थानिय रैथाने परिकारलाई प्रबर्द्धन गर्नुपर्ने प्रिन्सिपल रेग्मीले बताए ।

एनटीएचएमसीका विद्यार्थीलाई हामीले विभिन्न व्यवहारीक शिक्षा दिईरहेका छौ । रेग्मीले भने, बिदेशी पाहुना विद्यार्थीलाई समेत नेपाली सेलरोटी, अचार, आलु तामा जस्ता परिकारहरु बनाउन सिकाएका छौं । यस्तै नेपाली जनजीवनका रैथाने खानाका परिकारहरु बनाउने ज्ञान दिएका छौं ।

पाेखरा पर्यटन परिषदका उपाध्यक्ष कृष्ण भण्डारीले नेपालमा पर्यकटकहरु यहाँ के पाइन्छ भनेर आउने भएकाेले हामीले हाम्राे उत्पादन र त्यसबाट बनेका परिकारहरु उनीहरुका लागि रुचिकर हुनेमा जाेड दिए । उनले नेपाली उत्पादनका लागि पहिले प्रवर्धनकाे खाँचाे रहेकाे बताए । भण्डारीले विदेशबाट आयातित गरिएका उत्पादनकाे सट्टामा मेची महाकालीसम्मका खानाहरुकाे ब्राण्डिङमा जाेड दिए ।

एक हप्तासम्म आयोजना गरीने कार्यक्रमका विभिन्न इभेन्टहरुमा पाकशास्त्री सन्दिप खत्री र प्रख्यात सेफहरुको प्रत्यक्ष सहभागितामा रैथाने खानाका परिकारहरु बनाउने र तिनका बारेमा जानकारी दिईने भएको छ ।

रैथाने परिकारहरुमा पूर्वि नेपालका राई लिम्वु जातीका खाना, सून्य क्यालोरीका मःम लोप हुँदै गरेका नेवारी खाना, प्राचिन शासक वर्गका रेसिपी, सिस्नोको आईसक्रिम, सयपत्री फूलको सस लगायतका रहने संयोजक भुजेले बताए । यसका साथै क्वाँटी मःम, १५ प्रकारका अन्य मःम, स्पेशल बिबि क्यू लगायतका परिकारहरु रहने भएका छन् ।

इभेन्टमा सहभागि हुनेहरुका लागि गोलाप्रथाद्वारा विजेता बन्ने दुई जनालाई लेकसाईडस्थित होटल रानीबन आर्केडमा १ रात दुई दिन खाना बस्नको सुविधा दिईने भएको छ । साथै फेवातालमा डुंगा सयर गराईने भएको छ ।

कार्यक्रम अवधिमा ग्यास्ट्रोनोमी एशोशिएसन अफ सेफ संस्थाले प्रमाण पत्र वितरण गर्ने, उत्तम अभियानको रनिङ टर्च पासको अवधारणा शुरु गरिने भएको छ । सोहि अवसरमा प्रशान्त खनालद्वारा लिखित पुस्तक “टिमुर” को विमोचन र संचारकर्मि दीपेन्द्र पहारीद्वारा लिखित हिप्पी टुरिजम पुस्तकको विमोचन गरिनेछ ।

कार्यक्रममा पर्यटन व्यवसायी, हरि भुजेल, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना शर्मा ‘वर्षा’, पाेखरा हाेटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, पत्रकारहरु सहभागि भएका थिए । संचालन संचारकर्मि दीपेन्द्र पहारीले गरेका थिए भने अध्यक्षता संयोजक कुश बहादुर भुजेलले गरेका थिए ।