कास्की-२(२) बाट विजयी कांग्रेसका विन्दुकुमार थापाले भने-मुख्यमन्त्रीकाे लागि सक्षम छु

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित



पाेखरा, ८ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की–२(२) बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका थापाले ९ हजार २ सय ८० मत ल्याएर गण्डकी प्रदेशसभा सदस्यका लागि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार मीना गुरुङले ७ हजार नौ सय ७१ मत ल्याइन।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीन हजार नौ सय तीन र नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले तीन सय ६६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका लक्ष्मण विश्वकर्माले दुई सय ६६, जनता समाजवादी पार्टीका धनबहादुर परियारले दुई सय एक, स्वतन्त्र उम्मेदवारहरु श्रमिक घर्ती क्षेत्रीले चार सय ६५, मोनिका तामाङले ५२ र लिलमाया पुन गुरुङले ३२ मत प्राप्त गरिन्।

म मुख्यमन्त्रीकाे लागि सक्षम छु

म मुख्यमन्त्रीकाे लागि सक्षम छु भन्ने मेराे मान्यता रहेकाे छ। पार्टीले के कस्ताे जिम्मेवारी दिन्छ त्यसमा भर पर्छ । पार्टीभित्रबाटै पनि असहयाेग भयाे नि भन्ने पत्रकारकाे प्रश्नमा थापाले यसलाइ सहज रुपमा लिएकाे र पार्टीलाई मजबुत बनाउने काममा सबै लाग्नुपर्ने बताए ।

पहिलाे कार्यकालमा रहँदा धेरै अनुभव भइसकेकाेले अब दाेश्राे कार्यकालमा नीति निर्माणका साथै विकासका काममा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । थापा विजयी भएपछि बिहिबार बिहान थापाकाे निर्वाचन क्षेत्रमा मतदाताका लागि धन्यवाद र्याली निकालिएकाे थियो ।