अर्घाखाँचीबाट रायमाझी लगातार चौथो पटक निर्वाचित

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


अर्घाखाँची, ८ मंसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको अर्घाखाँचीका तीनवटै सिटमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभामा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी तथा प्रदेशसभा (१)मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (२) मा रामजीप्रसाद घिमिरे विजयी भएका छन् ।

निर्वाचित तीनै जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रमको आयोजना गरी विजयी घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको हो ।

प्रमाणपत्र ग्रहण गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित रायमाझीले सबै पक्षसँग समन्वय र सहकार्य गरेर देशको एकमात्र लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली बनाउन लागिपर्ने बताए । रायमाझी ४२ हजार ६ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन् । रायमाझी १ हजार ७ सय ३० मतान्तरले विजयी भए ।

स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार १ सय ९९ मत प्राप्त गरेका छन् । रायमाझी विसं २०६४, २०७०, २०७४ र २०७९ गरी चारपटक विजयी भइसकेका छन् । पूर्वउपप्रधानमन्त्री भइसकेका रायमाझी पटक–पटक मन्त्रीसमेत बनिसकेका छन् ।

प्रदेशसभा (१) मा एमालेका उम्मेदवार चेतनारायण आचार्यले २० हजार ५ सय १८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरे ।

प्रदेशसभा (२) मा पनि एमालेका उम्मेदवार रामजीप्रसाद घिमिरे विजयी भएका छन् । घिमिरेले २२ हजार सात सय ७६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरेका छन् ।