झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


झापा, ८ मंसिर । झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।अध्यक्ष लिङ्देन ४० हजार ६ सय ६२ मतका साथ विजयी भएका झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार ३ सय ८६ मत प्राप्त गरे ।

झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी भएका हुन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा हुँदा लिङ्देन विजयी भएका थिए ।

झापा क्षेत्र नं ३ मा १ लाख ३१ हजार ४ सय ३२ मतदाता रहेकामा ६८.२ प्रतिशत अर्थात् ८९ हजार ६ सय ३७ मत खसेको थियो । झापा क्षेत्र नं ३ प्रदेशसभा-१ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेशसभा-२ मा नेकपा ९एमाले०का छविलाल चुडाल प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।