झापा-३ मा राप्रपाका लिङ्देन र कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठ विजयी

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


काठमाडौं, ८ मंसिर । झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्। अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी भएको झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए।

उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार तीन सय ८६ मत प्राप्त गरे । झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी भएका हुन्।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी भएका थिए । झापा क्षेत्र नं ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेशसभा (२)मा नेकपा (एमाले)का छविलाल चुडाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी श्रेष्ठ विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन्।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार सय चार मतका साथ विजयी भइन। निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाए।

नेकपा (एमाले)का तपेन्द्र रावलले पाँच हजार एक सय ९० मत प्राप्त गरे। जम्मा एक लाख छ हजार सात सय तीन मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६४ हजार नौ सय ९९ मत खसेको थियो । जम्मा खसेको मतमा तीन हजार दुई सय ६८ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिए।

यसअघि यो क्षेत्रको प्रदेशसभा (१) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी १५ हजार एक सय एक मतका साथ विजयी भएका थिए । त्यस्तै प्रदेशसभा (२) बाट सोही पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार तीन सय १७ मतका साथ वियजी भएकाे निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए।