काभ्रे २ बाट एमालेका गाेकुल बास्कोटा भारी मतले विजयी 

-



     सफल आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित



काभ्रे, ९ मंसिर। काभ्रे क्षेत्र नंम्बर २ बाट नेकपा एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटा प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ विजयी भएका छन् । बाँस्कोटाले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचित बाँस्कोटाले ४५ हजार ३४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हुमागाईंले ३९ हजार ५८२ पाए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंको भागमा १० हजार ५८६ मत पर्यो । बास्कोटा  यसअघि २०७४ सालमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो नतिजासहित हालसम्म नेकपा एमालेका तर्फबाट ३१ जनाले विजय हासिल गरिसकेका छन् भने १५ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसका हालसम्म ४२ ठाउँमा जित हासिल गरिसकेको छ भने ११ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा माओवादीले हालसम्म १२ ठाउँमा जित हासिल गरिसकेको छ भने ६ स्थानमा अग्रता कायम गरेको छ । यस्तै एकीकृत समाजवादी पार्टीले १० ठाउँमा विजय हासिल गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ ठाउँमा जित हासिल गरिसकेको छ भने १ स्थानमा अग्रता कायम गरेको छ ।