निर्वाचन पछिको लोकतन्त्र, अर्थतन्त्र र सामाजिक न्यायको संभावना विषयक बहस सम्पन्न

-



     आरजू विष्ट सल्यानी    
     मंसिर १० गते २०७९ मा प्रकाशित



पाेखरा, १० मंसिर । ‘निर्वाचन पछिको लोकतन्त्र, अर्थतन्त्र र सामाजिक न्यायको संभावना’ विषयक बहस कार्यक्रम आज पोखरामा सम्पन्न भएकाे छ । कार्यक्रम एफइएस(फ्रेडरिक एबर्ट स्टिफटुङ्ग) नेपालकाे सहयाेगमा सयपत्री समाज कास्कीकाे आयोजनामा गरिएकाे हाे ।

निर्वाचन लोकतन्त्रको प्राणवायु हो । यसका बारेमा हुने छलफलबाट समाजिक तथा राजनीतिक प्रक्रियालाई जिवन्त बनाउने काम गर्दछ । लोकतान्त्रिक प्रणालीको सवलीकरणबाट सहयोग पुग्छ भन्ने मान्यता रहेको बक्ताहरूले बताए।

कार्यक्रमको शुरुआतमा अवधारणा प्रस्तुत गर्दै पृथ्वीनारायण क्याम्पस राजनीति शास्त्र विभागका सहप्राध्यापक गिरधारी सुवेदीले नेपालमा वित्तीय संघीयताबाट सिर्जित अवसर र चूनौतीहरु, संघीय तथा प्रादेशिक निर्वाचनपछिको राजनीतिक आयाम, लोकतन्त्रको भविष्य , निर्वाचन र महिलाका मुद्धाहरुमा बहस केन्द्रित रहेकाे बताए ।

कार्यक्रममा एफइएसका नेपाल प्रतिनिधि जोनाथन मेंगेले एक सय वर्ष अगाडी देखि संस्थाले एक सय बढी देशहरुमा रहेर शान्ति, लोकतन्त्र र समावेसीताका विविध पक्षहरुमा काम गर्दै आएको बताए ।

कार्यक्रममा प्राध्यापक डा.कृष्ण के.सीले संघीय तथा प्रादेशिक निर्वाचन पछिको राजनीतिक आयाम र लोकतन्त्रको भविष्य विषयक कार्यपत्र प्रस्तुत गर्दै २०४६ को परिवर्तन पछि हामी भाष्यमा रम्दै आएको बताए । उनले क्षमताभन्दा बाहिरको नारा लगाउँदै आए पनि लोकतन्त्रको पक्षमा लक्ष्य के हो भनेर स्पष्ट नभएको पाईएको बताए ।

डा. के.सीले नेपालमा राजनीति गरिरहेका दलहरुमा इमान्दारीको खाँचो भएको बताउँदै नेताहरुले गोप्य सहमति गर्ने र भन्ने अर्कै हुन्छ भन्दै खालि राजनीति दाउपेचमा रुमल्लिएको बताए । उनले नेपाल भूराजनीतिको चपेटामा रहेको बताउँदै अरुको बिचार बेठिक भन्ने मनोबृत्ति बढिरहनु दूर्भाग्य भएको बताए । नेपालमा नेताहरुको देवत्वकरणको कारण लोकतन्त्रको असलि अभ्यासमा घाटा लागिरहेको उनकाे भनाइ थियाे।

वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका डा.श्रीकान्त खतिबडाले नेपालमा वित्तीय संघीयताबाट सिर्जित अवसर र चूनौतीहरु विषयक कार्यपत्र प्रस्तुत गर्दै राज्यको संरचनागत स्वायत्तताका साथसाथै वित्तीय स्वायत्तताबाट मात्रै दीगो अर्थतन्त्रको निर्माण हुने भएकोले वित्तीय सवलिकरणमा जोड दिए ।

खतिबडाले साधन श्रोतको बाँडफाँड गर्ने वर्तमान कानूनी प्रावधान ठीक भए पनि त्यसलाई प्रदेशमैत्री र न्यायोचित बनाउनु आवश्यक भएको बताए । उनले विकास योजनाहरुको छनौट, बजेट र तिनको समुचित संचालनमा जोड दिए । ठूला तथा मझौला र सानालाई संवैधानिक प्रावधान अनुसार जानुपर्ने र केन्द्रबाट समन्वय भए पनि तल्लो तहमा हस्क्षेप गर्न नहुने बताए

आम्दानी तथा खर्चको जिम्मेवारीका बारेमा स्थानियसंग छलफल, अध्ययन अनुसन्धानका आधारमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । साथै उनले वित्तीय संघीयता अनुरुप आम्दानीका दायरा फाराकिलो बनाउन करयोग्य श्रोत जुटाउन आवश्यक भएकोमा जोड दिए ।

कर्याक्रममा अधिकारकर्मि सावित्री गौतमले निर्वाचन र महिलाका मुद्धा विषयक कार्यपत्र प्रस्तुत गर्दै महिलाका लागि निर्वाचनमार्फत निर्वाचित भएर नीति निर्माण तहमा पुग्न अति आवश्यक भएकोले त्यस्तो नीति निर्माणको ढाँचामा महिला तथा पुरुषको सहभागिता समान हुनुपर्नेमा जोड दिईन ।

देश महिलाको पनि हो । उनले भनिन्, देश निर्माणमा सधैंभरी पुरुषसंगै महिलाले पनि आफ्नो योगदान दिने भएकोले देश निर्माणका लागि बनाईने योजना र कार्यक्रममा सहभागि हुने अधिकारमा महिलाको पनि बराबरीको हक हुने बताईन्। उनले प्रमुख नीतिनिर्माताको रुमा महिला पुगे भनेनै महिलाको अवश्थामा सकारात्मक परिवर्तन आउने संभावना रहने बताईन ।

कार्यक्रममा प्राज्ञिक क्षेत्र, विभिन्न अधिकारवादी संस्थाका पदाधिकारी, शिक्षक तथा संचारकर्मिहरु छलफलमा सहभागि भएका थिए । सयपत्री समाजका अध्यक्ष प्रा.डा.कृष्ण के.सीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पृथ्वीनारायण क्याम्पस राजनीति शास्त्र विभागका सहप्राध्यापक, सयपत्री समाजका निर्देशक गिरधारी सुवेदीले गरेका थिए ।