पार्टीले सबै विधानसभा छोड्ने, पूर्व घोषित आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता : खान

-



     सफल आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित


इस्लामावाद, पाकिस्तान, ११ मङ्सिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीले देशको क्षेत्रीय र बिधान सभाबाट बाहिरिने घोषणा गरेका छन् । विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत भएका थिए। उनको दल अहिले प्रतिपक्षमा छ ।

उनले विदेशी शक्तिको सहयोगमा प्रधानमन्त्री शाहबाज सरिफले आफूलाई पदच्युत गर्नु गैरकानुनी र योजनाबद्ध भएको दाबी गर्दै मध्यावधी निर्वाचनको माग गर्दै आएका छन् । यद्यपि खानले विदेशी शक्ति भनेर सङ्केत गरेको अमेरिका र वर्तमान् प्रधानमन्त्री सरिफले उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

वर्तमान् सरकारले अर्को निर्वाचन सन् २०२३ मा तोकिएकै मितिमा हुने बताएको छ । खानले गत महिनाको अन्त्यतिर पूर्वी शहर लाहोरबाट इस्लामावादतर्फ विरोध प्रदर्शन शुरू गरेका थिए । विरोध अभियानका क्रममा केही हप्ता पहिले उनको गाडीलाई लक्षित गरी गोली चलाउँदा घाइते भएपछि खानले व्यक्तिगत रूपमा अभियानको नेतृत्व गर्न असमर्थ बनेका थिए। उक्त आक्रमणमा खानका एक समर्थकको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

बन्दूकधारी आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार राति इस्लामावाद नजिकैको रावलपिण्डी शहरमा खान पुनः विरोध प्रदर्शनमा सामेल हुँदै बिधान सभाबाट बाहिरिने घोषणा गरे । उनले आफ्ना हजारौं समर्थकलाई आफ्नो तेहरीक–ए–इन्साफ पार्टीले सबै क्षेत्रीय र राष्ट्रिय सभाहरू छोडेर यो ‘भ्रष्ट प्रणाली’ नसच्चिँदासम्म यसबाट बाहिर निस्केको बताए । उनको पार्टीका सांसदले गत अप्रिलमा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुनुअघि नै सामूहिक रूपमा विधान सभाबाट राजीनामा दिएका थिए ।

खानको गढ खैबर पख्तुनख्वाको उत्तरपश्चिमी प्रान्तमा पर्छ र पञ्जाब विधानसभाबाट बाहिरिएपछि उनका प्रतिद्वन्द्वीहरूलाई सत्ता हस्तान्तरण हुनेछ । आफ्नो भाषणको अन्त्यतिर खानले मध्यावधि निर्वाचनको मागबाट पछि हट्दै आफ्नो पार्टीले नौ महिनापछिका लागि तय भएको निर्वाचन जित्ने बताए । उनले अब राजधानीमा यसअघि घोषणा गरेको विरोध प्रदर्शन नगर्ने पनि बताए। खानले भने, “सरकार इस्लामावादमा मार्चको सामना गर्न सक्दैन, सरकारले चाहेजति धेरै पुलिसलाई बोलाउन सक्छन्, तर उनीहरूले लाखौं आन्दोलनकारीलाई इस्लामाबादमा प्रवेश गर्नबाट रोक्न सक्दैनन् ।” उनले थपे, “यस परिस्थितिमा हामीले श्रीलङ्काजस्तो अवस्था सिर्जना गर्न सक्थ्यौं ।