कोरोना बीमाको दावी रकम आजदेखि भुक्तानी हुँदै

-



     सफल आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी आज १३ गते मंगलबारबाट गर्ने भएका छन् । गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा कम्पनीहरु समावेश भएको बैठकको निर्णय अनुसार आजदेखि दावी भुक्तानी प्रदान गरिन लागेको हो ।

दावी भुक्तानी दिन शुरु गरिने भए पजि नेपाल बीमक संघले भने नेपाल पुनर्बीमा कम्पनीबाट हालसम्म रकम प्राप्त भइनसकेको जनाएको छ । नेपाल पुनर्बीमा कम्पनीबाट रकम प्राप्त भएपछि रकम पुनः बाँडफाँड गर्ने गरी संलग्न बमोजिमको चेक बुझेर कम्पनीले थप्नुपर्ने २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँ रकम थप गरी दावी भुक्तानी प्रकृया शुरु गर्न निर्जीवन बीमा कम्पनीलाई प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले दावी भुक्तानी गर्दा व्यक्ति तथा परिवारलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएको छ । यसबाहेक बीमक संघमा भएको थप निर्णयको आधारमा रकम बाँडफाँड गर्दा केही कम्पनीहरुले थप गर्नुपर्ने रकम नै अत्याधिक भएकोले सो रकमबाट नै दावी भुक्तानी गर्न समेत बीमक संघले आग्रह गरेको छ ।

साथै कम्पनीहरुले थप गर्नुपर्ने रकम संघमा पठाइसकिएको अवस्थामा उक्त रकम समेत थप गरेर चेक वितरण गरिएको संघको भनाइ छ । मर्जर भएका कम्पनीहरुको हकमा भने पछि बनेको कम्पनीको नाममा चेक रहेकोले साविकको दुवै कम्पनीले दावी रकम भुक्तानी गर्नुपर्ने संघले जनाएको छ ।