जाजरकोटमा सम्झौता सकिँदा पनि किन बनेन पुल?

-



     सफल आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित



जाजरकोट, १९ मंसिर । नलगाड जलविद्युत् आयोजना आवतजावतका लागि सडकमा पर्ने मोटरेबल पुल अलपत्र परेको छ । नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ बीचमा रहेको खारास्थित नलगाड नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणलाई आवतजावतमा समेत समस्य हुँदै गएको हो । सडक निर्माण पूरा भए पनि पुल निर्माण नहुँदा आवतजावतसँगै दैनिक उपभोग्य सामग्री लिनसमेत सास्ती बेहोर‍‍्नु परेको छ ।

यो अलपत्र पुलको ठेक्का जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले लिएका हुन् । उनले पुलको ठेक्काको काम नगर्दा अलपत्र परेको हो । भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डसँग जोडिएको नलगाड पहुँचमार्गले जुम्लासँग सडक जोड्ने काम गर्दछ ।

पुल निर्माण नहुँदा नलगाड नदीमा परेर धेरैले ज्यानसमेत गुमाएको स्थानीय रामबहादुर खत्रीले बताए । खत्रीले भने, “पुल निर्माण नहुँदा हामीले धेरै दुस्ख पाएका छौँ, नलगाड नदीमा काठको लाप्को बनाएर यातायातका साधन खोलामा तार्दा जोखिम हुनेगर्छ । काठबाट पुल बनाउँदा थप पैसा खर्च भएपछि त्यो सबै यात्रुबाट नै असुल्ने काम हुन्छ ।”

नगरप्रमुख खड्काको कम्पनी खड्का कृष्ण कन्सट्रक्सन प्रालिले सडक र पुल निर्माणको जिम्मेवारी लिएको थियो । पुल निर्माण नहुँदा भेरी करिडोरबाट गएका सवारीसाधन खारा र बारेकोट गाउँपालिकाबाट आएका सवारीसाधन साधुतरामा रोकिने गरेका छन् । नलगाड जलविद्युत् आयोजनामा फिल्ड इञ्जिनियर पदम थापाका अनुसार दुई वर्षभित्र पुल निर्माण गर्ने सम्झौता थियो । तर अहिले ६ वर्ष पूरा बितिसकेको छ ।

पुल निर्माणका लागि खारा र साधुतरा साइटमा दुई पिल्लर उठाइएको छ तर खारापट्टीको पिल्लर निर्माण गर्दा दुई मिटर ढलान गरेर मात्र पिल्लर राख्नुपर्ने थापाको भनाइ छ । पिल्लर राख्दा नै समस्या भएपछि आयोजनाबाट चिठी लेखेर पुनः पूर्ण पिल्लर निर्माण गर्न आग्रह गरिएको थियो ।

ठेकेदार कम्पनीले कार्यालयले लेखेको चिठी लत्याउँदै पिल्लर हालेको र कार्यालयले ठेकेदार कम्पनीलाई रकम भुक्तानी रोकेपछि अहिले समस्या आएको छ । ठेकेदार कम्पनीले साढे ३ करोड लागतमा  विसं २०७२ मा पुन: निर्माणको ठेक्का लिएको थियो ।