किन घरबाटै बोरा बोकेर विद्यालय जान्छन् यी विद्यार्थी ?

-



     सफल आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित



रौतहट, २२ मंसिर । रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा विद्यार्थीहरु सधैं घरबाट बोरा बोकेर जान्छन् । विद्यालयमा बस्नका लागि डेस्क र बेन्च नहुँदा बालबालिका बोरा लिएर विद्यालय जान बाध्य भएका हुन् ।

नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री माध्यमिक विद्यालयमा डेस्क र बेन्च नभएपछि १ देखि ६ कक्षासम्म अध्ययन गर्ने बालबालिका बस्नका लागि बोरा लिएर विद्यालय जान बाध्य भएका स्थानीय बताउँछन् ।

कक्षा १० सम्म रहेको उक्त विद्यालयमा ७४८ जना बालबालिका अध्ययन गर्छन् । जसमध्ये कक्षा १ मा ४६, कक्षा २ मा ७०, कक्षा ३ मा ५७, कक्षा ४ मा ९१, कक्षा ५ मा ७८ जना र कक्षा ६ मा १३० जना जना विद्यार्थी छन्। १ देखि ६ कक्षासम्म अध्ययन गर्ने ४७२ जना विद्यार्थी बस्नका लागि बोरा बोकेर विद्यालय जान्छन् ।

विद्यालयमा बालबालिका बस्ने डेस्क र बेन्च नभएको विषय नगरपालिकाको सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले गुनासो गरे ।

२०१७ सालमा स्थापना भएको विद्यालयमा अघिल्लो आर्थिक वर्ष नगरपालिकाले १० कोठे भवन निर्माण गरेको छ । भवन निर्माण गरे पनि विद्यार्थी बस्नका लागि आवश्यक डेस्क र बेन्चको व्यवस्थापनका लागि बजेट विनियोजन नभएको उहाँले गुनासो गरे ।

विद्यार्थी बस्नका लागि डेस्क र बेच्न आवश्यक भएको भनेर कार्यवाहक नगरप्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र शिक्षा शाखा प्रमुखसँग कुराकानी भए पनि यो विषयमा चासो नदिएको प्रधानाध्यापक यादवले बताए ।

‘‘विद्यालयको अवस्थाको विषयमा नगरपालिकाको कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र शिक्षा शाखा प्रमुखलाई समेत जानकारी गरायौँ। तर कसैले कुनै चासो देखाउनुभएन’’,  विद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले भने ।

नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्रप्रसाद यादवले भने विद्यालयमा डेस्क र बेन्चका लागि अर्को आर्थिक वर्षमा बजेट विनियोजन हुने बताए । उनले भने, ‘‘नगरपालिकासँग विद्यालयको अवस्थाको विषयमा कुराकानी भएको छ। आगामी आर्थिक वर्षको बजेटमा आवश्यक डेस्क र बेच्नका लागि रकम विनियोजन हुन्छ । ’’