यूआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट आरजू सम्मानित

-



     सफल आवाज    
     मंसिर २४ गते २०७९ मा प्रकाशित



पोखरा, २४ मंसिर । युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट सल्यानीलाई अर्पण गरिएकाे छ ।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल)ले स्थापना र सञ्चालन गरेको युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कारकाे राशि नगद २० हजार र ताम्रपत्र रहेकाे छ ।

शुक्रबार पाेखरामा आयोजित संस्थाकाे ९औं वार्षिकाेत्सव समाराेहमा प्रमुख अतिथि पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य र यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले नगदसहित सम्मानपत्र, खादा, माला लगाएर सम्मान गरे ।

साे अवसरमा मेयर आचार्यले संचार तथा साहित्यकाे क्षेत्रमा परिचित व्यक्तित्वलाई सम्मान गर्न पाउनु खुसिकाे कुरा भएकाे बताए । उनले भने, शान्त, सरल र निरन्तर कर्ममा लागिरहने जाँगर चलिरहाेस् धेरैधेरै शुभकामना छ ।

साे अवसरमा मेयर आचार्यले पाेखरा अन्तराष्ट्रिय विमानस्थल संचालन हुने तयारीमा भएकाेले ल्याण्डफिल्डसाइडकाे विषय टुंगोमा पुर्याउने काममा लागरिहेको र यो सफल हुनेमा विश्वस्त रहन आग्रह गरे । यसमा हामी सबैको एकता आवश्यक रहेकाेले सघाउन जरुरी भएकाे बताए ।

यसअघि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक, डा. सुरेश पौडेल र पत्रकार बासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियाे ।

३ दशकदेखि पत्रकारितामा क्रियाशील रहेका सल्यानी हाल सफल आवाज डटकममा आवद्ध छन् । गीतकार/गजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टका कलाकार पनि हुन्। उनीसंग तेक्वान्दाे, फुटबल, जिमन्यास्टिक र टेबलटेनिसका खेल खेलेकाे अनुभव पनि छ।

यसअघि, यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।

संस्थाले हालसम्म सित्तैमा १ सय ३६ वटा शिविर सञ्चालन गरिसकेको छ । जनतालाई स्वास्थ्यका बारेमा सचेतना जगाउने बारेमा पत्रकारलाई पुरस्कृत गरी वार्षिकोत्सव मनाउँदै आएको छ ।

अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक सन्दीप अर्यालले स्वागत गरेका थिए । अर्थ निर्देशक गणेश कोइरालाले सञ्चालन गरेका थिए ।