ब्रोडब्यान्ड इन्टरनेटको गुणस्तर परीक्षण गर्दै दूरसञ्चार प्राधिकरण

-



     सफल आवाज    
     मंसिर २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुले प्रदान गरिरहेको इन्टरनेट सेवाको गुणस्तर र गति परीषण गर्ने भएको छ । प्राधिकरणले सातै प्रदेशका प्रमुख शहरहरुमा आईएसपीहरुको सेवाको गुणस्तर र स्पीड जाँच गर्नका लागि परामर्शदाताहरुसँग आसय पत्र माग गरेसँगै यो कामले मूर्तरुप लिने भएको हो ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै सेवा प्रदायकहरुले कस्तो सेवा प्रदान गरिरहेका छन् भन्ने अध्ययन गर्नका लागि प्राधिकरणले परामर्शदाता खोजेको प्राधिकरणले जनाएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले गत बुधबार मंसिर २० गते सात प्रदेशको ब्रोडब्यान्ड इन्टरनेटको गुणस्तर र स्पीड जाँच गर्न आशय पत्र माग गरेको हो ।

प्राधिकरणको आह्वान अनुरुप ब्रोडब्यान्ड इन्टरनेटको गुणस्तर र स्पीड जाँच गर्न इच्छुक राष्ट्रिय परामर्शताले पुस ६ गते भित्र आवेदन पेश गर्नु पर्नेछ । यसका लागि प्राधिकरणले ३ वटा प्याकेजमा आशय पत्र माग गरेको छ । प्याकेज १ मा मधेस प्रदेश, प्याकेज २ मा बागमती र गण्डकी प्रदेश र प्याकेज ३ मा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश रहेका छन्।

परामर्शदाताले जेभी वा एकल रुपमा आवेदन दिन सक्ने गरी खुलाइएको आह्वानमा यो आवेदन सबै योग्य परामर्श फर्म/व्यक्ति/कम्पनी/संस्था सबैका लागि खुल्ला रहेको जनाइएको छ ।

परामर्शदाताले नेपालका विभिन्न स्थानबाट सेवा प्रदान गरिरहेका इन्टरनेट सेवा प्रदायको गुणस्तर तथा सेवाको मूल्यांकन, मापन र विश्लेषण गर्न पर्नेछ । परामर्शदाताले उपभोक्ता सर्वेक्षण गर्ने र गुणस्तरका सम्बन्धमा ग्राहकको धारणा पनि विश्लेषण गर्नु पर्नेछ।