विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छः प्रधानमन्त्री देउवा

-



     सफल आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित



काभ्रे, २९ मंसिर । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

काभ्रेको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं विश्वविद्यालयले विगत ३ दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको बताए ।

“विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र हो”, उनले भने, “विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।”

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौंं विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पुर्याउँदै आउनु सबैका लागि गर्वको विषय भएको उनले थपे ।

उनले काठमाडौं विश्वविद्यालयका विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई बधाई ज्ञापन गर्दै भविष्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

सो क्रममा उनले काठमाडौं विश्वविद्यालयबाट पहिलो पटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा’ ६ जना र मास्टर्स अफ साइन्स सेनिटेसन टेक्नोलोजीमा १ जना गरी सात जनालाई उपाधि प्रदान गरे ।