कांग्रेस संसदीय दलको नेतामा महामन्त्री थापाले उम्मेदवारी दिने‍

-



     सफल आवाज    
     पौष ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका हुन् । अर्का आकांक्षीका रुपमा रहेका डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन छलफल गर्दै थापाले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटाएका हुन् ।

सोमबारको महामन्त्री थापा र डा. कोइरालाबीचको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहान पनि छलफल भएको थियो । आज बिहानको छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको बुझिएको छ । आज मंगलबार बिहान साढे ८ बजेदेखि लाजिम्पाटस्थित होटल एम्बास्डरमा डा. कोइराला र थापासहितका नेताहरुले उम्मेदवारीमा सहमति जुटाउन छलफल गरेका थिए । छलफलमा नेता अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी रहेका थिए ।

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज मंगलबार दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । संसदीय दलको निर्वाचन भने भोलि ६ गते बुधबार बिहान ८ बजेदेखि हुने तालिका छ । कांग्रेस नेताहरुका अनुसार महामन्त्री थापाको उम्मेदवारी दर्ताको तयारीका लागि डा. कोइराला र महामन्त्री थापा होटेल बसेरामा पुनः बस्ने जनाइएको छ ।