युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग बुधबार भेटवार्ता,

-



     सफल आवाज    
     पौष ६ गते २०७९ मा प्रकाशित



वासिङ्टन, ६ पुस । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्नुहुनेभएको छ ।साथै उहाँले वासिङ्टनमा अमेरिकी काङ्ग्रेस (संसद)लाई सम्बोधन गरी युक्रेन युद्ध र आगामी योजनाबारे सांसदहरूलाई जानकारी गराउनुहुने वासिङ्टन स्रोतले जनाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धको हालसम्मको भयावह परिणामको समीक्षा गर्न र अर्को वर्षका लागि लक्ष्य तय गर्न आफ्ना उच्च सैन्य अधिकारीहरूलाई भेट्ने योजना बनाएकै दिन गोप्य रूपमा तय गरिएको यो भ्रमण हुन लागेको हो ।

जेलेन्स्कीले बुधबार ट्वीटरमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका छन्, “युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदैछु ।” ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले जारी गरेको विज्ञप्तिमा पनि भ्रमणबारे उल्लेख गर्दै भनिएको छ, “यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ ।

गत फेब्रुअरीमा रूसी सेनाले युक्रेनको कीभ र देशको अधिकांश भूभाग कब्जा गर्ने योजना बनाएपछि जेलेन्स्कीको युक्रेनबाहिरको यो पहिलो भ्रमण हुनेछ । राष्ट्रपति जेलेन्स्कीको वासिङ्टन भ्रमण रूस–युक्रेन युद्धको ३०० औं दिनमा भएको छ । रूसी सेनालाई पश्चिमा मुलुकहरूद्वारा सहयोग गरिएको हतियार र समर्थनमा युक्रेनी सेनाले यस पहिले कब्जा गरिएको क्षेत्रबाट पछि हट्न बाध्य परिरहेको छ ।

युक्रेनले रूससँग थप असफलताहरूबाट बच्न सङ्घर्ष गरिरहेको छ । जेलेन्स्कीको भ्रमणमा बाइडेनले करिब दुई अर्ब अमेरिकी डलर बराबरको नयाँ हतियार प्याकेजको घोषणा गर्नुहुनेछ, जसमा प्याट्रियट एयर डिफेन्स मिसाइल पनि समावेश छ । प्याट्रियट क्षेप्यास्त्रलाई रूसको दण्डात्मक क्षेप्यास्त्र र उसको पूर्वाधारमा ड्रोन आक्रमण रोक्न कीभलाई मद्दत गर्न महत्वपूर्ण मानिएको छ ।