
काठमाडौं, ६ पुस । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग १५ हजार कमाउँछिन् । यही आम्दानीबाट उनले आफ्नो गुजारा चलाउँदै आएकी छिन् । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी उनी एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आएकी हुन् । उनी ५० वर्षदेखि काठमाडौंका विभिन्न स्थानमा बदाम व्यापार गरेर आफ्नो जीविकोपार्जन भएको बताउँछिन् ।
तीन वर्षको उमेरदेखि नै राजधानी आएकी उनी हाल भक्तपुरको बाल्कोटमा बस्दै आएकी छिन् । आफ्नो हजुरबुबा र बाबु दुवै नेपाली सेना रहेकाले सानैमा बाबाआमाका साथमा राजधानी आएकोमा उनी ११ वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिइन् । बिहे भएको तीन वर्षपछि १५ वर्षको उमेरदेखि यस्तै व्यापार गर्दै आएको उनीले बताउँछिन् । एक छोरा र एक छोरीकी आमा नानीमायाँले २९ वर्ष अगाडि आफ्नो श्रीमान् गुमाइन् ।
उनले भनिन्, “बदाम एकैचोटि भण्डारण गर्न गाह्रो पर्ने भएकाले प्रायः हरेक दिन बिहान ४ बजे उठेर कालीमाटी जाने गरेको छु । दैनिकजसो एक पाथी बदाम करिब तीन सय ३० मा किनेर ल्याई त्यही बेचेर आफ्नो एक्लो जीवन चलाएकी छु ।”
टुँडिखेलको वरिपरि १४ वर्षसम्म बदाम र अन्य खानेकुरा व्यापार गर्दै आएकी उनले अहिलेसम्म यही व्यापारबाट नै जीविका चल्दै आएको बताइन् । बदाम जाडोयाममा कात्तिकदेखि फागुनसम्म बढी मात्रामा जाने र अरू याममा भने सानोतिनो चाउचाउ, बिस्कुट लगायतका सामान व्यापार गर्दै आएकी छिन् । कुनै दिन धेरै त कुनै दिन थोरै आम्दानी रहने भए पनि उनले समग्रमा प्रायः दैनिक ५ सय वरिपरि आम्दानी गर्दै आएकी छिन् ।
बदाम बेच्नुअघि रत्नपार्कभित्र व्यापार गर्दै आएकामा त्यहाँ प्रवेशका लागि शुल्क सहितको टिकट व्यवस्थापछि बाहिर व्यापार गर्दै आएको बताउँदै महानगरपालिकाको डरैडरमा व्यापार गरेको उनले बताइन् । कोही कोही महानगरपालिकाका कर्मचारीले मेरो सङ्घर्ष बुझेकाले बूढी आमालाई सानो व्यापार गर्न छोडिदिऊँ भन्ने गरेको घटना पनि उनले सुनाइन् ।
छोराको साथ नपाएकी उनले आफ्नै छोराछोरी हुदाँहुँदै पनि बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य भएको दुखेसो पोखिन् । उनी जिन्दगीमा धेरै सङ्घर्ष गरेको र आफ्नो दुःख आफैंका लागि हुनाले सबैजना आफ्नो लागि मेहनत गरेर आत्मनिर्भर हुनुपर्ने बताउँछिन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




