
पोखरा, १० पुस । नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्र रह्यो-भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र । यस सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरे । उनीहरुरुले नेपालको अर्थतन्त्रका बारेमा आ-आफ्ना धारणा राखे ।
‘मन्त्री, सांसदले स्वार्थ बाझिने नीति निर्माणमा बस्दिनँ भन्नुपर्छ’: डा. युवराज खतिवडा
उक्त सत्रमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले हामीले हाम्रा सबै विकासका प्रक्रियामा चुकेको र नराम्रोसँग फसेको प्रतिक्रिया दिए । उनले सधैं अतिवादको कुरा गर्नु नहुने सुझाउँदै हामीहरु संकटमै छौँ भन्ने पनि नभएको बुझ्न आग्रह गरे । ‘हामी जटिल समस्याको अवस्थामा छौँ ती समस्या हल गर्न सक्ने अवस्थामा आजसम्म छौँ । तर, त्यसको लागि राजनीतिक नेतृत्वको इच्छाशक्ति, आर्थिक समस्या हल गर्ने प्राथमिकता, समस्या हल गर्ने क्षमता तीन वटा कुरा हुनुपर्छ’, उनले भने ।
डा खतिवडाले त्यस प्रकारको नेतृत्व भए भने राम्रो हुने बताउँदै हाम्रो अहिलेको समस्या कृषि , औद्योगिक उत्पादन तथ सेवा क्षेत्रको रहेको बताए । उनले हामी जे उत्पादन गर्छौँ त्यसको ठूलो हिस्सा आयात गर्ने भएकाले बाह्य क्षेत्रका हाम्रा समस्या त्यही उत्पादनसँग सम्बन्धित रहेको प्रष्ट पारे ।
औद्योगिक कच्चा पदार्थ, विद्युतीय, मेसिनरी, सडक निर्माणको, रेलको, पर्यटकीय सेवाको सामान हामी आयात गर्ने भएकाले उत्पादनको संरचना परिवर्तन गर्दै आयातमा आधारित उत्पादन प्रणालीलाई आन्तरिक कच्चा पदार्थ र स्रोतमा जानासाथ हाम्रो बाह्य क्षेत्र बलियो हुने तथा उत्पादन र रोजगारी बढ्ने उनको बुझाई छ ।
‘पुँजी बढी भएको ठाउँबाट पुँजी जान्छ । प्रविधि बढी भएको ठाउँबाट प्रविधि जान्छ । मान्छे बढी भएको ठाउँबाट मान्छे प्रवाह हुन्छ । नेपालमात्रै मान्छे विदेश पठाउने मुलुक होइन । हामीले हेर्नुपर्ने कुरा के हो भने त्यो जनशक्तिलाई सिपयुक्त, दक्ष, सुरक्षित र आर्जन गरेको मुद्रा नेपाल फर्काउने गरी पठाएका छौँ कि छैनौँ त्यो आजका लागि महत्वपूर्ण कुरा हो’, उनले भने ।
डा खतिवडाको भनाइमा हामीले ५ लाख जति मान्छे श्रम बजारमा प्रवेश गराउने तर हाम्रो उत्पादनको संरचनाले २/३ लाख मान्छे पनि श्रम बजारमा आउन नसक्ने स्थिति रहेको छ । अब प्रविधिले हामीलाई रोजगारका अवसर कसरी हर्दै लगेको छ ? यो प्रविधिसँग जुध्ने श्रम शक्ति कसरी विकास गर्ने भन्ने प्रश्न अब ज्वलन्त हुने उनको भनाइ छ ।
अहिले हामीले तत्कालै हेर्ने हाम्रो उत्पादनसँग सम्बन्धित समस्या भएको र त्यसलाई हल गर्न सरकारको अर्थ नीति, औद्योगिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीतिको संयोजन जरुरी देख्छन् डा खतिवडा ।
उनी भन्छन्, ‘समष्टिगत अर्थतन्त्र व्यवस्थापन गर्नेहरुले एक ठाउँ बसेर अलिकति सामञ्जस्यपूर्ण ढंगले चल्यो भने हाम्रा समस्या केही महिनाभित्रै हल हुन्छन् । हामी आत्तिएर व्यवसायलाई सन्त्रासमा पारेर व्यवसाय बिगार्ने मात्रै काम गर्छौं । मन्त्री, सांसद चाहे व्यवसायी होस् स्वार्थ बाझिन्छ भने नीति निर्माण गर्ने ठाउँमा म बस्दिनँ है भन्नुपर्ने हुन्छ । उदाहरणका लागि लगानी बोर्डमा आफूसँग सम्बन्धित अर्को कसैले अप्लाइ गरेको छ भने सम्भव नै हुँदैन, हामी नै क्षमतामा चलेका छैनौँ भनेर निजी क्षेत्रको प्रतिनिधिले त्यहाँ भन्दिन्छ । त्यो स्वार्थ बाझिने कुरा भयो ।’
संसदीय समितिमा अर्थ, बेरुजु अथवा विकाससम्बन्धी सरोकारवाला सांसद छ भने ऊ त्यहीँ बसेर आफ्नो व्यवसाय प्रवर्द्धन हुने गरी कानुन संशोधन गर्न खोज्ने र भएका विधिलाई परिवर्तन गराउन र दबाब दिनलाई आफ्नो समूह ल्याएर सरकारलाई दबाब दिने काम गराउने उनले गुनासो गरे ।
उनका अनुसार मन्त्रीहरुको आफ्नो व्यवसायसँग, आफ्नो क्षेत्रसँग सम्बन्धित ठाउँमा स्रोत विनियोजन गर्ने, कर प्रणालीबाट सहुलियत दिने स्वार्थ बाझिने कुरा हुन्छ । सबै क्षेत्रले स्वार्थ बाझिने ठाउँमा नबस्ने स्वघोषणा गर्ने कुरा संसदको नियमावलिमा बनाउनु जरुरी हुन्छ। संसदीय समिति बनाउँदा नै तपाईं कुन व्यवसायमा हुनुहुन्छ ? निर्माण व्यवसायी हो भने अर्थ र लेखा समितिमा नबसिदिनुस्, विकास समितिमा नबसिदिनुस् भन्नुपर्ने हुन्छ । अभियन्ता आउनुभएको छ भने त्यस्तोमा नबस्ने स्थिति हुनुपर्छ । अबको संसदले त्यो गर्नुपर्छ ।
यसबाहेक उनले थपे, ‘दण्डहीनताको विषय के हो भने कानुन नभएको होइन । कानुनलाई अवहेलना गर्न कोसिस गर्ने, कानुन पालना गराउने निकायहरु न्याय प्रणाली, संवैधानिक अंगमा त्यहाँ क्षमता र स्वार्थ नबाझिने गरी काम गराउनु सक्नुपर्छ ।’
आफ्नो निर्वाचन क्षेत्र, भौगोलिक क्षेत्रमा अलिकति केही गरौँ भन्ने र म बनिहालौँ, कमाइहालौँ भन्ने गरी २ खालको नियत हुनसक्ने औंल्याउँदै उनले मन्त्रीहरुमा स्वाभाविक रुपमा एउटा नियत अर्कोपटक चुनाव जित्नु छ आफ्नो निर्वाचन क्षेत्रमा केही गरौँ भन्ने हुने बताए । ‘मन्त्री भयो हाम्रो क्षेत्रमा केही ल्याएन भन्ने हुन्छ । मानौँ ऊ त्यही क्षेत्रको मन्त्री भएको हो । यो मानसिकताले पनि हामी बन्दैनौँ । असल नियत भए पनि त्यो न्यायिक हुँदैन’, उनले जोडे ।
२०६३ सालदेखि ०७९ सम्म जति सरकार बने पनि औसत एउटा सरकारको आयु डेढ वर्षभन्दा माथि नभएको इतिहास सम्झाउँदै त्यस्तो अवस्थामा सुशासनको कुरा गर्द कानुनलाई बलियो बनाउने, कर्मचारीतन्त्रलाई बलियो बनाउने र त्यसको आधारमा शासकीय प्रबन्ध गर्ने, राजनीतिक तहबाट लामो समयसम्म गतिलो दृष्टि नबनिराखेको उनले प्रस्ट्याए ।
‘समाजमा सबै चोर, बद्मास हुँदैनन् । राजनीतिमा पनि सबै बद्मान हुँदैनन् । सबै ठाउँमा केही न केही कानुन विरोधी कुरा गर्ने, अवाञ्छित गतिविधि गर्ने सानो समूह हुन्छ । त्यसलाई लक्षित गरेर समाज, अर्थतन्त्र, राजनीतिलाई सामान्यकृत नगरौँ । हामी यही राजनीतिक प्रणालीमा बाँच्नु छ, यही प्रणालीलाई अघि बढाउनु छ र यहीँको राजनीतिज्ञलाई सुधारेर राष्ट्र निर्माणमा लगाउनु छ । हामीले सबैलाई एकमुष्ठ गाली नगरौँ । निजी क्षेत्र विकासको, आर्थिक वद्धिको संवाहक हो । निजी क्षेत्रले कर बढी तिर्छ । यत्रो आर्थिक क्रियाकलाप अघि बढाइराखेको छ । यो निजी क्षेत्रलाई चोर नभनौँ । कसैकसैले चोरेको छ भने कानुन छँदै छ । त्यसलाई पक्रेर जेल हाले भयो, किन सबैलाई गाली गर्नुपर्यो ?’, डा. खतिवडाले भने ।
सामाजिक अभियन्ताहरुले जनताको अपेक्षा बढाइदिएको तर आफूले केही नगरेको उनले गुनासो गरे । अपेक्षा बढाइरहँदा साधन, स्रोत र क्षमता बढाइदिए राज्य सञ्चालनमा सजिलो हुने उनी सुझाउँछन् । अपेक्षा बढाउनेमात्रै नभई केहले त्यसलाई सम्बोधन पनि गरेर काम गरेको पाइएकाले गालीलाई सीमित गरी रहेका समस्या हल गर्न उनले आग्रह गरे ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



