पशुपक्षी फार्मबाट मनग्य आम्दानी गर्दै धामी दम्पती

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



कञ्चनपुर, ११ पुस । शुक्लाफाँटा नगरपालिका-७ जुडाका सिद्धबहादुर धामीले झलारी बजारमा सञ्चालन गर्दै आएको किराना पसल कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण छाड्नु पर्यो ।

कोरोना सङ्क्रमणअघि किराना पसलबाट चाहेजस्तो आम्दानी भइरहेको थियो । “कोरोनापछि  पसलमा ग्राहक आउनै छाडे”, उहाँले भने, “घर मालिकले समयमै भाडा तिर्न निकै दबाब दिएपछि अन्ततः पसल छाड्नु पर्यो ।” यद्यपि पसलबाट भएको आम्दानीबाट केही रकम बचत पनि थियो ।

उनले पसल छाड्ने बेलामा काकाले टर्कीपालनबाट राम्रो आम्दानी गरिरहेका थिए । एउटै टर्की बेच्दा ४ हजार आम्दानी भएको देखेपछि उनी पनि पशुपक्षीपालनमा आकर्षित भए । तर उनीसँग ज्ञान भने थिएन ।

उनले पशुपक्षीपालनअघि केही जानकारी इन्टरनेटबाट लिए भने केही काकासँग लिए । नगरपालिकामा फार्म दर्ता गरेपछि उनले लौकाट, स्थानीय जातका कुखुरा, चिनियाँ हाँस, कालिज, टर्की, बट्टाई, बङ्गुरपालन सुरु गरे । “सुरुमा अनुभव नहुँदा ३ सय कुखुरा र २ दर्जनभन्दा बढी टर्कीका बच्चा मरे”, उनले भने, “नोक्सानी भए पनि त्यसबाट पाठ सिक्दै काम जारी राखे अहिले राम्रो आम्दानी भइरहेको छ ।”

पशुपक्षीपालन गर्नका लागि स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरी फार्म तयार गरिएको छ । कुखुरा, हाँस, कालिज टर्की, बट्टाई, बङ्गुरका लागि अलग–अलग रुपमा फार्म बनाइएका छन् । त्यसका लागि उनले ५ लाख लगानी गरेका छन् ।

पशुपक्षीका लागि उनले चारो र औषधिमा मात्रै मासिक ३५ हजार खर्च गर्दै आएका छन् । फार्ममा धामी दम्पती दिनरात खटिन्छन् । “बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म दुवै जनाको समय फार्मको काममै बित्छ”, धामीले भने, “समय बितेको पत्तौ नै हुँदैन, मेहनत गरे अनुसारको आम्दानी हात लाग्दा निकै खुसी छौँ ।”

वार्षिक रुपमा खर्च कटाएर २ लाखदेखि ३ लाखसम्म आम्दानी भइरहेको उनले सुनाए । यो वर्ष उनले २ सय वटा टर्की २ लाखमा बिक्री गरिसकेका छन् । त्यसबाहेक ५० हजारका कालिज तथा २०/२५ हजारका चिनियाँ हाँस पनि बिक्री भइसकेका छन् ।

त्यसबाहेक उनका फार्ममा ३ लाखका लौकाट, २ लाखभन्दा बढीका लोकल कुखुरा र १ लाख २० हजारभन्दाबढीका ६ वटा बङ्गुर बिक्रीका लागि तयारी अवस्थामा छन् ।

स्थानीय बजारका व्यापारीसँगै धनगढी, महेन्द्रनगर लगायतका व्यापारी फार्ममै पुगेर पशुपक्षी खरिद गरेको उनको भनाइ छ । “बजार खोज्दै हिँडनु परेको छैन, व्यापारीले फोनमै कुरा गरेर गाडी ल्याएर नगद रकम दिएर पशुपक्षीको तौल गरी लैजाने गरेका छन्”, धामीले भने, “विगतमा किराना पसल सञ्चालन गर्दा सामान उधारो जाने समस्या अहिले छैन कारोबार नगदमै हुने भएकाले म सन्तुष्ट छु ।”

फार्मबाट भएको आम्दानीबाट उनले ह्याचरी मेसिन खरिद गरेका छन् । मेसिनमा कालिज टर्की, बट्टाई, चाइनिज हाँस र स्थानीय जातका कुखुराका अण्डा राखेर चल्ला उत्पादन गरी बेच्ने योजना उनले बनाएका छन् । फार्म नजिकै रिसोर्ट खोलेर व्यवसाय बिस्तार पनि गर्ने उनको योजना छ ।

धामीले स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनका बुवा स्थानीय विद्यालयमा शिक्षक छन् । “पढे लेखेर नोकरी गर्ने र विदेश जाने हाम्रो समाजको मानसिकता छ, त्यसलाई प्रोत्साहित पनि गरिन्छ”, उनका बुवाले भने, “घरमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने मानसिकता तयार गर्न जरुरी छ ।”