
पोखरा, १२ पुस । पोखरामा सम्पन्न नेपाल लिटरेचर फेस्टिभलको पाँचौं दिनको सत्रमा लेखक खगेन्द्र संग्रौलासँग प्रेमका बारेमा सम्वाद गरिएको छ । उनले आफ्नो जीवनमा घटेका प्रेमील घटनाबारे यसरी सुनाए :
जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिनँ । म गाउँले बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण गर्छ । जीवनमा धरै कर्महरु गरिन्छन्, तर भनिँदैनन् ।
जीवनमा प्रेम गर्न बडो गाह्रो छ । गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ । तपाईंको प्रेमको प्रारम्भ कसरी भयो भनेर प्रश्न गर्दा सबैको जवाफ यस्तो आउला, ‘मेरो प्रेमको प्रारम्भ पत्नीबाट भयो । मेरो प्रेमको उत्कर्ष पनि मेरो पत्नीमै भयो । मेरो प्रेमको अवशान पनि पत्नीमै हुने छ । जीवनमा कुनै महिलालाई स्पर्श गरिन, आँखा पनि जुधाएको छैन ।’
मलाई लामोसम्म डर लागिरह्यो । मैले आफ्नो प्रेम पत्रको कुरा गरेँ भने, प्रेमको पोल खोलेँ भने, भण्डाफोर गरेँ भने मेरो पत्नीको मनमा त्यसको के प्रभाव पर्ला ? मलाई पिरलो लागि रह्यो ।
जीवनमा बन्देजमा राखिएका कुराहरु, निषेध गरिएका कुरालाई साहित्यको माध्यमबाट व्यक्त गरिन्छ । साहित्य यस्तो सशक्त माध्यम हो, जहाँ संस्कृतिले बन्देज लगाएका कुराहरु र तानाशाहीले बन्देज गरेका कुराहरु प्रतीकको माध्यमले र रुपकको माध्यमले व्यक्त गरिन्छ । मेरो प्रेम पनि साहित्यबाट प्रारम्भ भयो ।
मेरो जन्म पाँचथरमा भयो । पाँचथर र तेह्रथुमलाई छुट्याउने बीचमा तमोर नदी छ । मेरो गाउँमा हाइस्कुल थिएन । तेह्रथुम गएर हाइस्कुल पढ्नु पर्थ्यो । ९–१० कक्षा पढ्दा मलाई कसैप्रति भावुक अनुराग उत्पन्न भएछ । तर मलाई थाहा थिएन । त्यसबेला साहित्यिक गोष्ठीहरु हुन्थ्यो । मैले साहित्य गोष्ठीहरु प्रेमबारे कथा लेख्थेँ ।
अव्यक्त प्रेम, भिजेको रुमाल, एउटा दूरदेशकी परीलाई प्रेमपत्र जस्ता लेख्थेँ । त्यस्ता प्रेमका कथा लेख्दा आम जीवनको भावना व्यक्त गरिरहेको छु जस्तो लाग्थ्यो । अहिले फर्केर हेर्दा के लाग्छ भने, कसैप्रति मेरो अनुराग थियो । भावुक अनुराग थियो । अहिले साहित्यको माध्यमबाट भनेको रहेछु भन्ने लाग्छ ।
स्कुलमा पढ्ने केटीहरुको संख्या धेरै थिएनन् । केटीहरुको संख्या थोरै थिए । त्यो थोरै केटीहरुतिर धेरै केटाहरु आँखा पर्थ्यो । तिनमाथि देख–अदेख, व्यक्त–अव्यक्त अत्यन्त तृष्ण र कठोर प्रतिस्प्रर्धा हुन्थ्यो । त्यो प्रतिस्पर्धामा स्वाभवत: म पनि थिएँ । म अझै पनि कपितय कुरामा अत्यन्त संकोच छु । यद्यपि कतिपय कुरा बहेरमुखी , कता वाक्पटु जस्तो पनि देखिन्छु ।
यो समाजको लागि म अभद्र किन देखिने ? अरुको दृष्टिमा किन गिरौं भन्ने मनाशयले आफूलाई नै ढाँटिरहन्छु । कतिपय यस्ता कुराहरु म भन्न सक्दिन । संस्कृतिले धेरै वर्जित गरेको छ । मैले प्रेमका कथा लेख्न थालेपछि साथीहरुले खिज्याउँथे । तर मनमा ठूलो उत्साह जग्थ्यो ।
मेरो रुम पार्टनरले प्रेम पत्र लेखिदिए ‘म पुर्याईदिन्छु भन्यो । मलाई डर लाग्यो । म कक्षा सधैं प्रथम हुने हुनाले मसँग एउटा शक्ति पनि थियो । सानोतिनो कसुरमा मुक्त हुन्थेँ, म कुटिन्न थिएँ । प्रेमपत्रको भण्डाफोर नै भएछ भनेपनि मेरो शक्ति र सामार्थ्यले जोगिन्छु कि भनेर मैले प्रेमपत्र लेखेँ । तर प्रेम पत्र लेख्ने प्रारम्भदेखि नै मलाई डर लागि रह्यो ।
मेरो नोट उसको कापी सरिदिने सर्तमा मेरो प्रेम पत्र मैले मन पराएको केटीलाई दिने । त्यो नोट उसको कापीमा सारिदिन्थेँ । मेरो प्रेमपत्र मैले मन पराएको केटीकहाँ पुर्याइदिने सर्त भयो । तर पुर्याउने कसरी । चिठी लेखियो, खाममा पनि हालियो । अर्काे फसाद पर्याे । सल्लेरीको नजिकबाट त्यो केटी आउने । उसँग अरु मान्छे पनि हुन्थे ।
त्यो केटीलाई चिठ्ठी दिन महाभारत भयो । चार–पाँच दिन सल्लेरीमा कुरेपछि चिठ्ठी हात पारिदियो । उसले मलाई आएर भन्यो चिठ्ठी हात पर्याे । मलाई रातभरी निद्रा लागेन । त्यो केटीले हेडसरलाई उजुर गर्ली, त्यसको बाउ सिस्नु लिएर आउला, मलाई त डर लाग्यो । मलाई कतै भागौं जस्तो लाग्यो । यस्तो ठाउँ होस् जहाँ विलुप्त हौं, हराउँ जस्तो भएँ ।
उज्यालो भयो, निदहराम भएर आँखा पोलिरहेका छन् । सिताराम प्रसाईं मेरो साथी थियो, मेरो प्रेम पत्रको हुलाकी थियो । म बिहानको स्कुलको प्रार्थनामा गएँ । केटीको अनुहार कुनै परिवर्तन देखिन । कतै मेरो प्रेम पत्रको प्रतीक्षामा त छैन ? उसमा त्यो आँट आएन होला मैले प्रेम पत्र लेखेँ । त्यो दिन केही भएन । धन्य भगवान जोगियो भन्ने लाग्यो ।
पत्रको त प्रतीक्षा हुन्छ । त्यो पत्र व्यर्थ लेखिएछ जस्तो लाग्यो । त्यत्रो जोखिम उठाएर व्यर्थ लेखिएको होइन थियो । दोस्रो चिठ्ठी चाहि कम डरका साथ लेखेँ, सितारमाले चिठ्ठी दियो । त्यसपछि जवाफ आयो । केटीको परिवार मेरो परिवारभन्दा धनाढ्य थियो । चिठ्ठीमा जवाफ के आयो भने , मेरो विवाह हुने कुरा चलिरहेको छ, यसलाई म काट्न सक्दिन । त्यसैले तिमीसँग विवाह हुन सक्दैन, तिमी भानुभक्त बन भनिन् ।
पछि फर्केर हेर्दा के लाग्यो भने ठूलो कुरा भनिएको थियो जस्तो लाग्छ । उसको कुनै आरोप थिएन । तिमीसँग विवाह सम्भव छैन । भानुभक्त बन’ मेरो मन खिन्न भयो । मलाइ केको भानुभक्त बन्नु छ । मलाई त केटी चाहिएको थियो । त्यो प्रेमले स्वरुप र आकार ग्रहण गर्नु पहिले टुंगियो । वास्तवमा त्यो प्रेम थिएन, भावुकता थियो ।
तथापि केही थियो । अहिले ७७ वर्ष भएँ, त्यो धेरै पुरानो घटनाको याद अझै छ । यदाकदा त्यो केटीसँग भेट हुन्छ । तर अचम्म के भयो भने, स्कुलमा हुँदासम्म उनीसँग एक वचन पनि बोलचाल भएन । एउटै कक्षाको केटी भएदेखि नोट साट्ने बहानामा एकदुई वचन बोलिथ्यो होला । त्यो सकियो ।
अस्वीकृति थिएन, बाध्यता थियो । मैले जीवन जहाँदेखि जहाँसम्म यात्रा गरेँ । तीनको उद्धारका कारणले पनि हो । तिमी भानुभक्त बन भन्ने केटीले ठूलो उद्धार गरिन् जस्तो लाग्छ । उनको र मेरो प्रेमसम्बन्ध जोडिएर विवाह भएको भए तपाईंहरुसँग भेट हुने थिएन । दाम्पत्य जीवनमा बाधिन्थेँ । परिवारको बोझ शिरमाथि हुन्थ्यो । मेरो जीवन त्यही परिवेशमा हुन्थ्यो । त्यहीँ बिलाउँथेँ । उनको स्वीकार नै उद्धार भयो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




