लोककथाबाट चियाउँदा समाज कस्तो देखिन्छ ?

-



     सफल आवाज    
     पौष १२ गते २०७९ मा प्रकाशित


पोखरा । ‘लोककथाबाट चियाउँदा समाजको दर्पण कस्तो देखिन्छ?’ सहजकर्ता दीपक सापकाटाले कवि तथा संस्कृतिविद् तुलसी दिवसलाई सोधे । १ सय २२ ओटा लोककथाको संगालो ‘लोककथा’बाट प्रचलित मौखिक कथाको संग्रहण गरेका दिवसले लोककथाको महत्वबारे बोले ।

पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको सेसन ‘लोककथाको आलोक’मा वक्ता थिए तुलसी दिवस । र सहजकर्ता थिए पत्रकार सापकोटा ।

दिवसले भने, ‘नेपाल १ सय ४० भन्दा बढी भाषा बोल्ने जातीहरूको सामूहिक स्थल हो । नेपाली बोल्नेको मात्रै होइन । सबैको सामूहिक स्थल भएका कारण इतिहासको अवधारणा आमूल परिवर्तन आउने देखिएपछि लोकसाहित्य, संगीत संकलन मात्र हैन आफ्नो इतिहासलाई पूर्ण रुपमा संकलन गर्न आवश्यक छ ।’

उनी नेपाली लोककथालाई प्रकाशमा ल्याउनका लागि कथा संकलन गरिएको बताउँछन् । ‘भूगोल, संस्कृति फरक हुँदा पनि लोककथा किन एकै हुन्छन् ?’ सापकोटा सोध्छन् । दिवस संसारका मानिस जहाँ भए पनि समान सोच्ने बताउँछन् । न्याउरी मारी पछुतो लोककथा नेपालमा मात्र नभई आइल्याण्डमा पनि फरक पात्रको रुपमा प्रस्तुत भएको उदाहरण उनी दिन्छन् ।

‘हाम्रो न्याउरी मारी पछुतो कथा आइल्याण्डमा पुगेपछि कुकुर मारी पछुतो भयो । किनकि त्यहाँ सर्प नहुँदा, न्याउरीमुसोबाट जे सन्देश दिन खोजेको थियो त्यो पूरा हुन । अनि कुकुर पात्र राखियो,’ उनी भन्छन्, ‘हरेक लोककथा संसारभरि छन् । पात्र परिवर्तन हुन्छन्। तर कथाको सन्देश एउटै हुन्छ ।’