एभरेष्ट बैंकका ग्राहकले पाेखराकाे ग्यालेक्सी हस्पिटलमा १२ प्रतिशतसम्म छुट पाउने

-



     सफल आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित



पोखरा, १३ पुस । एभरेष्ट बैंकका सेवाग्राहीले पोखराको ग्यालेक्सी हस्पिटलका विभिन्न सेवामा छुट पाउने भएका छन् । काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको एभरेष्ट बैंक र कास्कीको पोखरा-१० उत्तम चोकमा मुख्य कार्यालय रहेको हस्पिटलका प्रतिनिधि बीच छुटसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएसँगै एभरेष्ट बैंकका सेवाग्राहीले ग्यालेक्सी हस्पिटलका सेवामा छुट पाउने भएका हुन् ।

आज भएको कार्यक्रममा बैंकका तर्फबाट एभरेष्ट बैंकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा हेमन्तकुमार मानन्धरले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा बैंकका पोखरा शाखा प्रमुख उज्जवलराज शर्मा तथा ग्यालेक्सी हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापा लगायतकाे उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार ग्यालेक्सी हस्पिटलले बैंकका सेवाग्राहीलाई बेड शुल्कमा १२ प्रतिशत, ल्याब तथा रेडियोलोजी शुल्कमा १०-१० प्रतिशत, फार्मेसीमा ७.५ प्रतिशत तथा अपरेशन शुल्कमा १० प्रतिशत छुट दिनेछ । यसबाहेक एभरेष्ट बैंक ग्यालेक्सी हस्पिटलको अफिसियल पार्टनरका रुपमा रहनेछ भने हस्पिटलले अफिसियल बैंकिङ पार्टनरका रुपमा बैंकको लोगो प्रयोग गर्नुपर्नेछ ।

यो छुट सुविधा लिनका लागि कुनै पनि व्यक्ति एभरेष्ट बैंकमा खाता भएका र बैंकको डेबिट/ क्रेडिट कार्ड प्रयोग गरिरहेको हुन अनिवार्य रहेको हस्पिटलले जनाएको छ ।

५० शय्या सेवा सञ्चालनको स्वीकृति पाएको ग्यालेक्सी हस्पिटलमा नेपाल सरकार श्रम मन्त्रालय अन्त्तरगत सामाजिक सुरक्षा कोषमा आवद्ध वा सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थामा काम गर्ने र कोषमा निरन्तरता रहेका कर्मचारीलाई जम्मा २० प्रतिशत शुल्कमा सम्पूर्ण रोगहरुको स्वास्थ्य उपचार तथा परार्मश सेवा दिइँदै आएको हस्पिटलका अध्यक्ष डा हेमन्त मानन्धरले जानकारी दिएका छन ।

उनका अनुसार यसरी सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई सहुलियत दरको मात्र २० प्रतिशत शुल्कमा स्वास्थ्य उपचार तथा परार्मश सेवा उपलब्ध गराइँदै आएको छ ।

हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापा भने सामाजिक सुरक्षा कोषमा निरन्तरता भएका त्यस्ता व्यक्तिको दुर्घटना भएर चोटपटक लागेमा शत प्रतिशत नि:शुल्क रुपमा स्वास्थ्य उपचार तथा परार्मश सेवा उपलब्ध गराइँदै आएको बताउँछन् । यसबाहेक हस्पिटलमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. हेमन्त मानन्धर र डा कल्याण बराल द्वारा प्रत्येक हप्ताको सोमबार नि:शुल्क स्वास्थ्य परीक्षण तथा परार्मश सेवा उपलब्ध भइरहेको थापाले बताएका छन ।