सन् २०२२ मा ६ लाख बढी पर्यटक भित्रिए

-



     सफल आवाज    
     पौष १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ पुस । सन् २०२२ मा ६ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । हालै अध्यागमन विभागलेे सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार १ सय ४८ पर्यटक नेपाल भ्रमणमा आएका देखाएको हो ।

मासिक हिसाबले हेर्दा अक्टोबर महिनामा सबैभन्दा बढी पर्यटक आएको पाइएको छ । सन् २०२२ को अक्टोबरमा ८८ हजार ५ सय ८२ जना पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी २०२२ को जनवरीमा भने सबैभन्दा कम १६ हजार ९ सय ७५ जना मात्रै पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ ।

हाल नेपालमा २ वटा अन्तरराष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा आएकाले पर्टकको सङ्ख्यामा वृद्धि हुने पर्यटन व्यवसायीको बुझाई र अपेक्षा रहेको छ । त्रिभुवन विमानस्थल मात्र हुँदा पनि विगतमा १२ लाख भन्दा बढी पर्यटक भित्रिएको आँकडा रहेकाले थपिएका विमानस्थलले पर्यटकको संख्या बढाउनेमा आकलन गरिएको हो ।

नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत पर्यटक पोखरा भ्रमणमा जाने गरेको हुँदा पोखरामा आगामी दिनमा पर्यटकको संख्या वृद्धि हुने पर्याप्त आधारहरु रहेको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । पोखरामा विमानस्थल जस्ता पूर्वाधार बनेकाले आगामी दिनमा पर्यटक बढ्नेमा पर्यटन व्यवसायी पनि ढुक्क छन् । पोखराले भारतीय शहरहरु र चीनबाट पनि पर्याप्त तान्नेमा आफू आशावादी रहेको उनीहरुको भनाइ छ ।

सन् २०२२ को समग्र आँकडा हेर्दा सबैभन्दा बढी पर्यटक मित्रराष्ट्र भारतबाट भित्रिएका छन् । भारतबाट यो अवधिमा २ लाख ९ हजार १ सय ५ जना पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्क छ। त्यसपछि संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया र बंगलादेशबाट पर्यटक भित्रिएका छन् ।

यो अवधिमा अमेरिकाबाट ७७ हजार ९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् भने बेलायतबाट ४४ हजार ७ सय ८१ जना, अष्ट्रेलियाबाट २६ हजार ८ सय ७४ जना र बंगलादेशबाट २५ हजार ३ सय ८४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

क्षेत्रगत हिसाबले हेर्दा सार्क क्षेत्रबाट सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका पाइएको छ । सार्क क्षेत्रबाट ४०.०६ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी सार्क बाहेकका अन्य एसियाली मुलुकबाट ८.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । युरोपबाट २१.७२ प्रतिशत तथा अमेरिकी महादेशबाट १४.१३ प्रतिशत, ओसनियाली क्षेत्रबाट ४.६६ प्रतिशत तथा मध्यपूर्वी राष्ट्रबाट १.६२ प्रतिशत पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले अद्यावधिक गरेको तथ्याङ्कमा उल्लेख छ ।