यस कारण स्थगित भयो फाइभजी परीक्षण

-



     सफल आवाज    
     पौष १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ पुस । सरकारी स्वामित्वको नेपाल टेलिकमले गर्ने योजना बनाएको फाइभजी परीक्षण तत्कालका लागि स्थगित गरेको छ । यसअघि टेलिकमले अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरी २०२३ देखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको थियो । तर नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसारर फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइस कम भएका कारण तत्कालका लागि परीक्षण स्थगित गरिएको हो ।

नेपाल टेलिकमले २६०० फ्रिक्वेन्सीमा फाइभजी परीक्षणको अनुमति पाएको थियो । प्रवक्ता अधिकारी भन्छन्, ‘उपलब्ध २६०० फ्रिक्वन्सीमा फाइभजी चल्ने सेटहरुको उपलब्धता कम छ । व्यावसायिक कार्यका लागि पनि २६०० फ्रिक्वन्सी हो कि हैन भन्ने थाहा छैन । फाइभजी प्रयोगकर्ता कम देखिएकाले तत्कालका लागि परीक्षण रोकिएको हो ।’

नेपाल टेलिकमले यसअघि आफैंले आन्तरिक परीक्षण गरेको थियो । जस अनुसार बजारमा उपलब्ध एकाध मोडलका फोनहरुमा मात्र फाइभजी सपोर्ट गर्ने पाइएको थियो । सबै उपभोक्तालाई फाइभजी सेवा उपलब्ध गराउनु अघि टेलिकमले बजारमा उपलब्ध सबैखाले सेटहरुमा फाइभजी चलाएर परीषण गर्नुपर्ने हुन्छ । यस्तो कामका लागि अझै केही हप्ता समय लाग्ने टेलिकमको भनाइ छ ।

नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण शुरु गर्ने योजना बनाएको थियो । यसका लागि काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी उपकरण जडान गरिसकिएको छ । तर फाइभजी सपोर्ट गर्ने मोबाइल सेटको सङ्ख्या पर्याप्त नभएका कारण यस पटक पनि टेलिकम ‍औपचारिक रुपमा फाइभजी परीक्षण गर्न नसक्ने अवस्थामा पुगेको हो ।