
काठमाडौं, १९ पुस । अपर तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।
आयोजनाको निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेसन काभ्रेको मण्डन देउपुरमा राख्ने भनेर गरिएको र अहिले सर्भेभन्दा अन्यत्रै राख्न खोजिएको भन्दै परियोजना पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको हो ।
समितिले सुरुमा सर्भे भएको काभ्रेको मण्डन देउपुर–१ हलिदेमा नै सबस्टेसन राख्नुपर्ने अडान राखेको छ । पछि निर्माण कार्य अघि बढाउने क्रममा परियोजनाले काठमाडौँको शङ्खरापुर–३ बोझेनीमा राख्न खोजेपछि समितिले विरोध जनाएको हो । सर्भे गरिएकै स्थानमा परियोजनाको सबस्टेसन नराखे आयोजनाको निर्माण कार्य नै अघि बढाउन नदिने समितिले चेतावनीसमेत दिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक तुलाराम तामाङले स्थानीयवासीले अघि सारेका जायज माग पूरा गर्न सरकारले अविलम्ब कदम चाल्नुपर्ने धारणा राखे। उनले स्थानीयवासीले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गरेको भन्दै आपत्ति जनाए। परियोजनाको सबस्टेसन सार्नुमा भूमाफियाहरूको चलखेल भएको दाबी छ ।
“एसियाली विकास बैंकको लगानीमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाइरहेको अपर तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेसन राख्ने, टावर प्याड राख्ने तथा तार बिछ्याउने कार्यको हाम्रो विरोध रहेको जानकारी हुँदाहुँदै पुस १७ र १८ गते प्रहरी परिचालन गरेर जनतालाई लाठीचार्ज गर्न र धरपकडको हामी घोर विरोध गर्दछौैँ”, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राज्यले बनाउने आयोजना जनताको लाभका लागि भए पनि यसले जनतामा निहित आत्मअधिकारसमेत हनन् भएको उनीहरूको आरोप छ । साथै, पक्राउ परेका जयमान वाइवा, राजमान स्याङ्बो, लोहाङ लामाको तुरुन्त रिहाइको पनि माग गरिएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




