चालु पुँजी कर्जा मागदर्शनमा राष्ट्र बैंक लचिलो हुने संकेत

-



     सफल आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० पुस । पछिल्लो समय नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मापदण्ड केही लचिलो बनाउने संकेत दिएको छ । अघिल्लो सरकारका पालामा यो विषयमा निकै कठोर बन्दै आएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हालै पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार आएपछि केही लचिलो भएका हुन् ।

केही समययता विभिन्न व्यवसायी तथा व्यवसायीहरुका छाता संगठनका प्रतिनिधिले गभर्नर अधिकारीसँग भेट गरी ब्याजदर घटाउने तथा चालु पुँजी कर्जासम्बन्धी नियम तत्काल लागू नगर्न वा केही लचिलो गरिदिन सुझावसहित आग्रह गरेका थिए ।

यसबाहेक यसअघिको शेरबहादुर देउवाको पालामा गभर्नर अधिकारी र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबीच राम्रो सम्बन्ध नभएका कारण गभर्नर अधिकारी यस विषयमा लचिलो भएका थिएनन् । तर हाल एमालेको तर्फबाट सरकारमा नेतृत्व गरेर जाने विष्णुप्रसाद पौडेल उपप्रधानसहित अर्थमन्त्रीको रुपमा अगाडि आएपछि उनले चालु पुँजी कर्जाको नियम केही लचिलो बनाउन सहमत रहेको इंगित गरेका हुन् । यसबाट निजी क्षेत्र निकै आशावादी देखिएको छ ।

अर्थमन्त्री पौडेलले हालै निजी क्षेत्रको माग बमोजिम गभर्नर अधिकारीलाई चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई के कसरी सहजीकरण गर्न सकिन्छ  त्यसै अनुरुप गर्न अनुरोध गरेपछि गभर्नर अधिकारीले सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग छुट्टाछुट्टै भेट गरेका थिए । यस्तै मंगलबार नै राष्ट्र बैंकका पदाधिकारीहरुले नेपाल बैकर्स एसोसिएसनका पदाधिकारीसँग पनि छुट्टै भेटघाट गरेका थिए ।