बीमा कम्पनीहरुको निक्षेप सर्वसाधारण सरह बनाइयोस्: संघ

-



     सफल आवाज    
     पौष २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ पुस । नेपाल जीवन बीमक संघले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेको छ । भेटका क्रममा जीवन बीमा कम्पनीहरुको निक्षेपलाई सर्वसाधारण निक्षेप बनाउन संघले अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ । बुधबार साँझ अर्थमन्त्री पौडेललाई भेटर संघका पदाधिकारीहरुले उक्त माग राखेका हुन् ।

बीमा कम्पनीहरुको फण्डलाई संस्थागत निक्षेपको रुपमा राखिएको भन्दै संघले बीमा कम्पनीहरुले सर्वसाधरणकै पैसा बीमाशुल्क मार्फत संकलन गरेको हुनाले त्यसलाई सर्वसाधारण सरह गणना गरिनु पर्ने माग अर्थमन्त्रीसमक्ष राखेको बुझिएको छ ।

राष्ट्र बैंकको नियम अनुसार सर्वसाधारण निक्षेपमा भन्दा संस्थागत निक्षेपमा २ प्रतिशत कम ब्याज दिन मिल्ने व्यवस्था छ । त्यस हिसाबले संघले बीमा कम्पनीहरुको निक्षेपलाई पनि सर्वसाधारण सरह नै गणना गरिनु पर्ने माग गरेको हो । यसअघि संघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा पनि त्यही माग राखेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको तथ्याङ्क छ । त्यसमध्ये बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप ७७.२० प्रतिशत लगानी रहेको छ । जीवन बीमा कम्पनीहरुले कुल लगानी मध्ये ६७.२८ प्रतिशत वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा, ८.६६ प्रतिशत विकास बैंकहरुको मुद्दती निक्षेपमा, १.१० प्रतिशत फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा तथा ०.०५ प्रतिशत नेपाल पूर्वाधार बैंकको निक्षेपमा लगानी गरेको आँकडा छ ।