२१४३.९३ विन्दुमा उक्लियो नेप्से, ५ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     पौष २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ पुस । नेपाली सेयर बजार निरन्तर उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।

कारोबार रकम सन् २०२३ लागेपछिको सबैभन्दा उच्च भएको छ । सेयर बजारको सकारात्मक लयले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०९ अंकले बढेर २१४३.९३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.५१ अंकले बढेर ४११.२३ विन्दुमा पुगेको छ ।

यसदिन कुल २५९ कम्पनीहरको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयरको कारोबारबाट ५ अर्ब ४० करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ ०९ पैसा बराबरको कारोबार भएको छ ।

पछिल्ला दिनहरुमा कारोबार रकममा पनि बृद्धि हुन थालेको छ । यसका लागि लगानीकर्ताहरु निकै सक्रिय हुन थालेको आकलन गरिएएको छ ।

१३ उपसमूहमध्ये दुईवटा बाहेक अरु सबैमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । ९ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारका जानकारहरुले अब बजार मजबुत हुन थालेको बताउन लागेका छन् । अहिले नयाँ सरकार बनेको र सरकारले अर्थतन्त्र सुधारको लागि प्रतिवद्ध रहेको बताईरहेकोले लगानीकर्ताको मनोबल बढाएको छ ।

राष्ट्र बैंकले पनि लचिलो बन्दै चालु पूँजी कर्जा मार्गदर्शन २०७९ को पहिलो संशोधन गरेर ल्याएपछि त्यसको प्रभाव पनि परेको छ । उता माघ महिनामा बैंकको ब्याजदर घटेको खण्डमा त्यसको सकारात्मक असर बजारमा पर्ने अपेक्षा गरिएको छ ।

बिहिबार सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४३ करोड १९ लाख ६६ हजार ९७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्ड २ को सेयरमूल्य घटेको छ ।