बजारको सकारात्मक अपेक्षालाई विश्वासमा बदल्छु : प्रम

-



     सफल आवाज    
     पौष २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारमा देखिएको सकारात्मक अपेक्षालाई विश्वासमा बदल्ने बताएका छन् । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ समारोहमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रम दाहालले डिजिटल प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको र यसमा सरकारले सकारात्मक पहल अघि बढाउने जानकारी दिँदै नवीनतम प्रविधिलाई आत्मसाथ गर्दै अर्थतन्त्र सुधार गर्न सरकार लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथिको हैसियतले बोल्दै प्रधानमन्त्री दाहालले नवीनतम प्रविधिसँगै अघि बढ्नु चुनौतीपूर्ण भए पनि तत्काल सुधार गर्नुपर्ने कुरामा सरकार पछि नपर्ने र आवश्यक सहयोग गर्ने उल्लेख गरे । सरकारले अहिलेको आवश्यकता बुझेकोले र अर्थतन्त्र गतिशील पार्ने कुरामा निजी क्षेत्रसँग सहकार्य गरिने उनको भनाइ थियो ।

उनले आफू अर्थमन्त्री र गभर्नरसँग बसेर विद्यमान समस्या सहजीकरण गर्न समाधानका उपाय खोज्न थालेको जानकारी दिए । आफ्नो नेतृत्वमा सरकार बनेसँगै अहिले पुँजी बजारमा सकारात्मक अपेक्षा देखिएको र यसलाई विश्वासमा बदल्ने उनले दावी गरे ।