प्रतिबद्धता र आत्मसमीक्षा गर्दै प्रम दाहालले मागे विश्वासको मत

-



     सफल आवाज    
     पौष २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारेका छन् ।

आफू आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको उल्लेख गर्दै उनले  विगतका दुई पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने  छुट नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले यस पटक सिङ्गो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको उल्लेख गर्दै यो कार्यकालमा इमान्दार स्वीकारोक्तिसहित केही न केही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पहुँच नभई विधिको शासन शुरु गर्ने र ६० खर्ब बराबरको विकास खर्च जुटाउँदै राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका केही बाँकी काम पूरा गर्न लागिपर्ने बताए ।

आफूले अगाडि बढाएको मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, ऊर्जा क्षेत्रको विकासमा खेलेको भूमिकाले आज देश अगाडि बढेको यनले जानकारी दिए ।

आगामी ६ महिनाभित्र नागरिकता प्रदान गर्ने तथा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, आर्थिक समृद्धिका लागि नीतिगत सुधार, न्यायपालिकाको सुधार र भ्रष्टाचारको अन्त्य गर्दै नागरिक प्रशासन सेवा प्रवाहमा सुधार ल्याउन एक दर्जन नयाँ ऐनको तर्जुमा र विद्यमान ऐनको सुधार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले विकास निर्माणमा भएको वेथितीको अन्त्य गर्ने र तीन चरणमा काम गर्ने गरी वातावरण बनाउने विश्वास पनि व्यक्त गरे ।