
काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेअनुसार आफ्नो पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभापति देउवाले प्रधानमन्त्री दाहाल संविधानको रक्षाको पक्षमा उभिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले मुलुकमा विद्यमान चुनौतीको सामाना गर्दै देश र जनताको हितमा काम गर्नेछन् भन्ने विश्वासका साथ तत्कालका लागि उनले राखेको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने सभापति देउवाले बताए ।
सभापति देउवाले भने, “सरकारलाई सदनकाप्रति र सदनलाई जनताकाप्रति पूर्णरुपले जवाफदेही बनाउनका लागि संसद्मा एक जिम्मेवार र सशक्त विपक्षी दलको उपस्थिति आवश्यक हुन्छ । प्रभावकारी विपक्षीको अभावमा सरकार निरकुङ्श हुन जाने, स्वच्छेचारी नीति कानुन बन्न सक्ने, सत्ता पक्ष आफ्नो कर्तव्यबाट बिमुख हुने, शक्ति पृथकीकरण र सन्तुलन कमजोर हुने सम्भावना रहन्छ ।”
संसद् आफैं पनि देश र जनताको बृहत्तर हितमा काम गर्न सक्ने जन उत्तरदायी संस्थाका रुपमा नरहन सक्दछ । त्यसकारण आफूहरुले बहुलवाद र बहुदलीयतासहितको प्रतिस्पर्धात्मक संसदीय व्यवस्था रोजेको उनले बताए । सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसद्को एक महत्वपूर्ण काम भएको बताउँदै उनले सरकारमाथि निरन्तर नियमित रुपले निगरानी राख्नु, सरकारका सबै कामको अनुगमन गरी उचित मूल्याकङ्न गर्नु, सरकारका गुण र दोष केलाउनु पनि संसद्को कर्तव्य भएको उल्लेख गरे ।
देश र जनताका लागि सबै नीति र कानुनको निर्माण पनि संसद्को क्षेत्राधिकार भएको बताउँदै सभापति देउवाले संसद्मा प्रभावकारी प्रतिपक्षको अभावमा सरकार माथिको निगरानी र अनुगमनको पद्धति कमजोर र सरकारको गुण र दोषका विषयमा छलफलको अभाव हुने बताए ।
उक्त अवसरमा सभापति देउवाले उपरोक्त सबै विषयलाई गम्भीरतापूर्वक दृष्टिगत गरी कांग्रेसले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने र सङ्घीय संसद्मा प्रमुख विपक्षी दलका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको जानकारी गराए । उनले आफू प्रतिपक्षमा रहँदा विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन नगर्ने स्पष्ट पारे । सरकारका काम कारबाहीहरुको सूक्ष्म रुपले मूल्याङ्कन गरी गुण र दोषका आधारमा विश्लेषण गरेर आफ्नो धारणा बनाउने उनको भनाइ थियो ।
सोही आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्ने उनले बताए । उनले विपक्षी दलका रुपमा काम गर्ने केही सैद्धान्तिक र नीतिगत विषयका बारेमा बताउँदै विपक्षी दलका रुपमा काम गर्दा सबैले साझा धारण निर्माण गर्न आवश्यक केही साझा राष्ट्रिय सरोकारका विषय रहेका उल्लेख गरे ।
“महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नुपर्दछ भन्ने कांग्रेसको दृढ मत छ । कांग्रेसले हिजोका दिनमा तत्काल देशका सामु विद्यमान जटिल चुनौतीको सामना गर्न संवाद, सहमति र सहकार्यमा जोड दिएको इतिहास ताजा छ ।
सरकार इमान्दार भई काम गर्न जरुरी रहेको भन्दै उनले छिमेकी देश र मित्रराष्ट्रहरुसँग सन्तुलित र सुमधुरसम्बन्ध कायम राख्नुपर्ने धारणा व्यक्त गरे ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




