यस्तो छ रसुवामा पर्यटक घट्नुको कारण

-



     सफल आवाज    
     पौष २८ गते २०७९ मा प्रकाशित



रसुवा, २८ पुस । हिमाली क्षेत्रमा चिसोपन बढेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आगमन घटेको छ । गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटकको आगमन घटेको हो ।

रातिको समयमा परेको शीत बिहानसम्ममा पूरै बरफमा परिणत हुने भएकाले आगामी फागुन १५ सम्म होशियारपूर्वक यात्रा गर्न र सकभर एउटा लौरो साथ लिइ यात्रा गर्दा सुरक्षित भइने स्थानीयले बताए । अहिले गोसाइँकुण्डको पानीसमेत जमेर बरफमा परिणत भइसकेकाले यस याममा तीर्थको महत्वभन्दा सेताम्मे हिमशृङ्खला अवलोकन गर्न थोरबहुत यात्रुमात्र भ्रमणमा आउने गरेको होटल व्यवसायी सङ्घका जिल्लाअध्यक्ष रामशरण गजुरेलले बताए ।

हिमाली पदयात्राका लागि आएका पर्यटकले उत्तरी रसुवाअन्तर्गत उच्चभागमा रहेको गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्र एवं तामाङ सम्पदामार्गको ग्रामीण बस्तीसमेतका क्षेत्रमा भ्रमण गर्ने गरेको उनले जानकारी दिए । पर्यटकको आगमन कमी भएकाले सबै व्यवसायीले आ–आफ्ना होटल तथा लज सुदृढीकरण गर्न थालेका छन् ।

गोसाइँकुण्ड

होटल तथा लजको रङरोगन गराउने र सिरक तथा डस्ना मर्मत एवं नयाँ खरिद एवं ढुवानी गर्ने कार्य भइरहेको बताइएको छ । विगतको तुलनामा यस वर्षको पहिलो यामबाटै  होटल तथा लज चलायमान भइसकेका र दोस्रो याम अर्थात् फागुन १५ देखि बढी  पर्यटकको आगमन हुने यहाँका व्यवसायीको आकलन छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मिलन सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही पुस २६ गतेसम्म आन्तरिक १२ हजार ५ सय ३०, सार्क राष्ट्रका २ सय ४५, अमेरिका, जर्मनी, जापान, अष्ट्रेलियालगायत देशबाट आएका ४ हजार ५ सय ५२ विदेशी पर्यटकले निकुञ्जको  पर्यटकीय क्षेत्र भ्रमण गरेका थिए ।

पर्यटक निकुञ्जको भू–भागमा प्रवेश गरेबापत लाग्ने शुल्कबाट १ करोड ६६ लाख ५८ हजार ५ सय २५ राजस्व दाखिला भएको बताइएको छ । सेता हिमाल, तालतलैया, उकाली ओेराली, भञ्ज्याङ चौतारी, तामाङ संस्कृतिका नाचगानसमेतले  पर्यटकलाई मनमोहक बनाउने गरेको  छ ।