विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि, ११ जनाको सनाखत

-



     सफल आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित



पोखरा, १ माघ । पोखरामा आज बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा परेकामध्ये ६८ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको हो । मृतक सबैको शव गण्डकी अस्पतालमा राखिएको छ ।

प्राधिकरणका अनुसार विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए ।

दुर्घटनामा हालसम्म ज्यान गुमाएका ६८ मध्ये ११ जनाको सनाखत भएको छ । हालसम्म १ विदेशीसहित ११ जनाको सनाखत भएको पोखराको गण्डकी अस्पतालले जनाएको छ ।

सनाखत भएकाहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सोना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ तथा कोरियन नागरिक यू क्यानगुलको रहेका अस्पताल प्रशासनले जनाएको छ ।