निफ्राले कमायो साढे ७६ करोड खुद नाफा

-



     सफल आवाज    
     माघ ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड

काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७६ करोड ६१ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । प्रकाशित विवरण अनुसार यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हलको समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ४१ लाख रुपैयाँ रहेको पाइएको छ । खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफामा वृद्धि तथा इम्पयरमेन्ट चार्जमा कमी भएपछि बैंकको खुद नाफा बढ्न पुगेको देखिन्छ ।

चालु आर्थिक वर्गको दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानीमा ६०.८८ प्रतिशतले वृद्धि देखिएको छ भने कुल सञ्चालन आम्दानीमा पनि ६२.०१ प्रतिशतको बढोत्तरी देखिएको छ । यसैगरी बैंकको सञ्चालन मुनाफा पनि समीक्षा अवधिमा ७३.०९ प्रतिशतले बढेको पाइएको छ।

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५ करोड ९१ लाख रुपैयाँबाट घटेर ४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । यसले पनि खुद नाफा बढाउन भूमिका खेलेको छ । यसैगरी गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुवै बढेको तथ्याङ्कले देखाएको छ।

यसका साथै खुद नाफामा बढोत्तरी देखिएसँगै बैंकको प्रति सेयर आम्दानी अर्थात ईपीएसमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको ईपीएस २ रुपैयाँ ६६ पैसा बढेर ७ रुपैयाँ ९ पैसा पुगेको छ । यसैगरी बैंकको मूल्य आम्दानी अनुपात अर्थगात् पीई रेसियो ३२.१४ गुणा तथा प्रति सेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको विवरणमा उल्लेख छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको चुक्ता पुँजीमा ८ प्रतिशतको वृद्धि देखिएको छ । तर जगेडा कोष भने ४१.३० प्रतिशतले घटेको छ । बैंकको निक्षेपमा ७१.१२ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ भने कर्जा अझ १४३.६३ प्रतिशत बढेको पाइएको छ।