सुपर मादी हाइड्रोकाे आईपीओ आजदेखि खुल्ला

-



     सफल आवाज    
     माघ ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ माघ । सुपर मादी हाइड्रोपावरले आजदेखि सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजनाबाट प्रभावित मानिएका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएकाे सेयर वितरण भएपछि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएकाे हाे ।

कम्पनीले २१ करोड रुपैँयाको २१ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउने भएकाे छ । यसबाट २ लाख १० हजार कित्ता वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि रहेकाे बताइएकाे छ ।

१ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि रहेकाे छ भने ४२ हजार कित्ता कर्मचारीहरुकाे लागि रहेकाे छ। लगानी गर्न इच्छुक सर्वसाधारणले बाँकी रहेकाे १७ लाख ४३ हजार कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन्।

सेयरमा लगानी गर्नका लागि लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे अवधिसम्म आवेदन नपरेकाे खण्डमा माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ । सेयरमा घटीमा १० तथा बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसकाे लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको कम्पनीले जनाएकाे छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।