आइएमई जनरल इन्स्योरेन्सको बीमा प्रिमियम संकलन साढे १६ प्रतिशतले बढ्यो

-



     सफल आवाज    
     माघ ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारण सभा आज माघ ९ गते सोमबार होटल लि हिमालय, लाजिम्पाटमा सम्पन्न भएको छ ।

साधारण सभामा सम्पूर्ण सेयरधनीलाई हार्दिक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । यसबाहेक उनले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए ।

अध्यक्ष ढकालले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।

त्यसैगरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने पनि उनले जानकारी गराए ।

देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको बावजुद पनि कम्पनीले गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै सेयरधनीलाई धन्यवाद व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनी आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारीहरुको टिमको सहयोगबाट अघि बढिरहेको जानकारी गराए ।

बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पुर्याउने हेतुले ७ वटै प्रदेशबाट सेवा प्रदान गर्दै आइरहेका र बीमा अर्थतन्त्रको एक उत्कृष्ट हिस्सा बनिरहेकोमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आइरहेको उनले बताए ।

समीक्षा वर्षमा १ अर्ब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरी गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराउँदै श्रेष्ठले चालु आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कुल ९० करोड २५ लाख बीमाशुल्क आर्जन गरिसकेको बताए ।