पुस महिनामा भित्रियो झण्डै २ अर्बको स्मार्टफोन

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० माघ । पुस महिनाभरीमा नेपालमा विभिन्न देशबाट १ अर्ब ८० करोड भन्दा बढीको स्मार्टफोन आयात भएको छ । सरकारले केही महिनादेखि लगाउँदै आएको आयात प्रतिबन्ध फुकुवा गरेसँगै पुस महिनाभरीमा १ अर्ब ८० करोड १७ लाख ९२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागले हालै सार्वजनिक गरेको अर्धवार्षिक वैदेशिक व्यापार तथ्यांकले देखाएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ६ महिनाको अवधिमा समग्रमा १३ अर्ब ९८ लाख ८८ हजार रुपैयाँ बराबरको ८ लाख ९५ हजार ५७८ थान स्मार्टफोन आयात भएको छ ।

यो आँकडा गत मंसिर मसान्तसम्म ११ अर्ब २० करोड ८० लाख ९६ हजार रुपैयाँ बराबरको ८ लाख ३ हजार ८१८ थान रहेको थियो । पुस १ महिनामा भने नेपालमा १ अर्ब ८० करोड १७ लाख ९२ हजार रुपैयाँ बराबरको ६४ हजार ७६१ थान स्मार्टफोन आयात भएको पाइएको हो ।

सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै गत वैशाखमा ३ सय अमेरिकी डलर माथिको स्मार्टफोन सहित १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । पुसदेखि यी वस्तुको आयात प्रतिबन्ध खुल्ला गरिएको छ । प्रतिबन्ध खुल्ला हुँदा पनि एमडीएमएस प्रणाली लागू हुन नसक्दा वैध बाटोबाट स्मार्टफोनको आयात अपेक्षा गरे अनुसार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा पुस महिनामा ५७ ओटा मुलुकबाट स्मार्टफोन आयात भएको देखिएको छ । यीमध्ये अधिकांश स्मार्टफोन चीन र भारतबाट आयात हुने गरेको छ । यो १ महिनामा चीनबाट सबैभन्दा धेरै ८ अर्ब ९४ करोड ७३ लाख ६१ लाख हजार रुपैयाँ बराबरको ६ लाख ३७ हजार ६४८ था स्मार्टफोन आयात भएको छ । यसैगरी भारतबाट ३ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ बराबरको २ लाख ५० हजार २६१ थान स्मार्टफोन आयात भएको तथ्याङ्कले देखाएको छ ।