चालु आर्थिक वर्षकाे ६ महिनामा घट्याे आयात र निर्यात

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित


काठमाडौं, १० माघ । चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।

तथ्याङ्क अनुसार गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव ०१ प्रतिशतले कमी आएको हो । गत आवको पुससम्म ९ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखको आयात भएको हो ।

साथै गत आवको पुससम्म १ खर्ब १८ अर्ब ८५ करोडको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको हो । तथ्याङक अनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ ।

७ खर्बको व्यापारघाटा

चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा ७ खर्बभन्दा बढी पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापारघाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ । समीक्षा अवधिमा नेपालले ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ ।

गत आवमा ८ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको थियो । विभागको तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १९ दशमलव १५ प्रतिशतले घटेको छ ।

तथ्याङ्क अनुसार ६ महिनामा नेपालले छिमेकीमूलुक भारतसँग मात्र ४ खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । उक्त अवधिमा नेपालले भारतबाट ४ खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ भने ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारको निर्यात गरेको छ ।

आयात प्रतिबन्धको असर राजस्वमा

सरकारले सवारी साधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार बराबर राजस्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्षको छ महिनामा २ खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा चालु आवमा सोही अवधिमा १ खर्ब ८२ अर्ब ८४ करोड बराबर राजस्व संकलन भएको हो ।

सरकारले सबै प्रकारका मदिरा, १ सय ५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, ३ सय डलरभन्दा माथिको मोबाइल र सवारी साधन आयातमा प्रतिबन्ध हटाइसकेको छ । विभागका अनुसार ६ महिनामा नेपालले विभिन्न देशबाट ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो । तर मंसिरमा १ खर्ब ३२ अर्ब बराबरको विदेशी वस्तुको आयात भएकोमा पुसमा १ खर्ब २७ अर्ब बराबरको मात्रै आयात थपिएको हो ।

१ सय ४८ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्क अनुसार नेपालमा विभिन्न १ सय ४८ देशबाट ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । ६ महिनाको अवधिमा नेपालले भारतबाट मात्रै ४ खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात भएको छ ।

कुल ४ खर्ब बढीको आयात हुँदा ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार बराबरको मात्रै निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै ४ खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । ६ महिनाको अवधिमा चीनबाट १ खर्ब ९ अर्ब ९७ करोड ८७ लाख बराबरको आयात भएको छ भने ३४ करोड ११ लाख मात्र निर्यात भएको छ । चीनसँग मात्र १ खर्ब नौ अर्ब ६३ करोड ७५ लाख बराबरको व्यापारघाटा भएको छ ।