कामना सेवा बैंकका सीईओ बस्नेतसहित केही कर्मचारी विरुद्ध पक्राउ पुर्जी

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित


काठमाडौं, ११ माघ। कामना सेवा विकास बैंककाे ३२ करोड भन्दा बढिको कर्जा अपचलन गरेको आराेपमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत सहित केही उच्च कर्मचारी बिरूद्द प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले सो बिकास बैंकका केहि संकास्पद फाइल चेक गर्दा कमजोरी भेटाएपछि कर्जा अपचलन भएको प्रतिबेदनसहित बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेत तथा केहि उच्च तहका कर्मचारीकाे थप अनुसन्धान र कारबाहीकाे माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएको थियो।

सो लगत्तै प्रहरीले बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत सहितका व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको प्रहरी स्राेतले बताएकाे छ ।

झापाका केही व्यक्ति तथा कम्पनीका नाममा बैंकले प्रबाह गरेको ३२ करोड भन्दा बढिको कर्जा अपचलन भएको र त्यसमा बैंकका प्रमुख कार्यकारी सहितकाे संलग्नता देखिएकाे भन्दै नेपाल राष्ट्र बैंकले छानविन गरी कारबाही गर्न सीआईबीमा पत्राचार गरेपछि प्रहरीले यस बिषयमा छानबिन सुरु गरेको हो ।

अपचलन भएको साे खराब कर्जा बढेर ब्याजसहित ४० कराेड नाघिसकेकाे बुझिएको छ । बैंकका केहि कर्मचारी र भ्यालुएटरकाे मिलेमताेमा नक्कली ऋणी खडा गरी कमजाेर धिताे राखेर ऋण प्रबाह गरेकाे र साे रकम कर्मचारी आफैंले चलाएको देखिएकाे छ, सीआईबी स्राेतले भन्याे।

अपचलन भएको मध्ये केही रकम भने गैरकानुनी मानिएकाे नेटवर्किङमा समेत लगाएकाे पाइएकाे छ। यो केश बाहिर आएपछि केही महिनाअघि यसमा मुछिएका एक व्यक्तिले आत्महत्या नै गरेका थिए । आत्महत्या गर्ने व्यक्ति सो बैंकका भ्यालुएटर थिए ।

अहिले एकाएक बाहिर आएको कामना सेवा विकास बैंकको यो कर्जा अपचलको घटना नयाँ भने होइन । करिब १० महिना अघि नै बैंक कर्मचारी र भ्यालुएटरको मिलेमतोमा यो घटना भएपछि बैंकले केहि कर्मचारीलाई छानबिनको दायरामा ल्याएको थियो। तर धितोले कर्जा रकम नधान्ने थाहा पाएपछि मात्र बैंक ब्यबस्थापनमा भुइचालो गएको थियो। त्यसपछि मात्र बैंकका प्रमुख कार्यकारी अधिकृत र बोर्ड यो विषयमा सिरियस बनेर यसको ब्यबस्थापनमा लागेका थिए ।

पछिल्लो समय यो बिकास बैंकमा सुशासन नभएको, बैंक ब्यबस्थापनमा बोर्ड हाबी हुने गरेको विषय बाहिर आइरहेकाे थियाे । बैंक संचालक समितिले अत्यन्त बिश्वास गरिएका सिइअाे प्रबिन बस्नेतलाई नै अहिले पक्राउ पुर्जी जारी भएपछि बोर्डको गतिविधि पनि शंकाको घेराभित्र परेको छ।

यो घटना बाहिर आएपछी कामना सेवा बिकास बैंकप्रति ग्राहकको बिश्वास गुम्ने खतरा बढेको छ। तर यो पुरानै घटना भएकोले यसले बैंकलाई नकारात्मक प्रभाव नपार्ने बैकको दाबी छ।