दादुराको प्रकोपबिरुद्ध खोपका लागि राष्ट्रसङ्घको सहयोग

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित



संयुक्त राष्ट्रसङ्घ, ११ माघ । संयुक्त राष्ट्रसङ्घले दक्षिण अफ्रिकामा दादुराका विरुद्धमा आम बालबालिकालाई खोप लगाउनका लागि सहयोग गरिरहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले सो कुराको जानकारी दिए ।

उनले दक्षिण अफ्रिकामा पछिल्लो समयमा दादुराको प्रकोप बढेपछि त्यसबाट बचाउन यहाँको सरकारले सबैलाई खोप लगाउने अभियानको सुरुआत गरेको थियो । त्यसका लागि संयुक्त राष्ट्रसङ्घको एक विशेष समूहले दक्षिण अफ्रिकामा नै रहेर सहयोग गरिरहेको जानकारी दिइएको समाचारमा जनाइएको छ ।

दक्षिण अफ्रिकाका नौ प्रान्तमध्ये पाँच ओटा प्रान्तमा नै यसको प्रकोप बढेको थियो । त्यसको नियन्त्रणका लागि खोप दिन थालिएको र त्यसमा संयुक्त राष्ट्रसङ्घको सहयोग रहेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिए। उनले भने– हाम्रो समूहले ती स्थानमा रहेर काम गरिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरुको समूह पनि रहेको र उनीहरुलाई आवश्यक प्राविधि लगायतको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय टिमले सघाएको उनले जानकारी दिए। यहाँ गत हप्तामात्र तीन सय ९७ जनामा यो दादुराको सङ्क्रमण देखिएको थियो ।