अब होटल, रेष्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने

-



     सफल आवाज    
     माघ १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ माघ । अबदेखि होटल तथा रेष्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने भएका छन् । सर्वोच्च अदालतले होटेल तथा रेस्टुरेन्ट व्यवसायीले ग्राहकबाट असुल्दै आएको सेवा शुल्क लिन नपाउने आदेश दिएपछि उनीहरुले अतिरिक्त शुल्क लिन नपाउने भएका हुन् । यसअघि होटल तथा रेष्टुरेन्टहरुले भ्याटबाहेक पनि ग्राहबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए ।

सर्वोच्च अदालतले संविधानको धारा ४४ र धारा ११५ (१) को मर्म अनुकूल नदेखिएकोले गत माघ ११ गतेदेखि लागू हुनेगरी यस्तो सेवा शुल्क लिन नपाउने घोषणा गरेको हो । केही समयअघि पनि ग्राहकले भ्याट जोडिसकेपछि सेवा शुल्क हट्नुपर्ने माग राख्दै आएका थिए तर यो कार्यान्वयन हुन सकेको थिएन । तर हालै सर्वोच्च अदालतबाट आएसँगै होटेल, लज, मोटेल, रेस्टुरेन्ट, फुडकोर्ट एवं यस्तै खाना, खाजा तथा नास्ताको सेवा उपलब्ध गराउने व्यवसायीले ग्राहकसँग बिक्री गर्ने खाना तथा खाजाको मूल्यमा १० प्रतिशत अतिरिक्त सेवा शुल्क लिन पाउने छैनन् । लिएको खण्डमा यस्ता व्यवसायी विरुद्ध उजुरी दिन पाइनेछ ।

यस प्रकारको सेवा शुल्क खारेजीको माग गर्दै गत २०७५ साल जेठ २३ मा प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले उक्त व्यवस्था अमान्य हुने फैसला गरेको हो ।