स्थानीय तहलाई जिम्मेवार बनाउन सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने

-



     सफल आवाज    
     माघ १५ गते २०७९ मा प्रकाशित



धुलिखेल, १५ माघ । गाउँपालिका महासङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको पनौतीमा भएको दुईदिने कार्यशालामा सहभागीहरूले स्थानीय तहलाई जिम्मेवार बनाउन तीनवटै तहका सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

स्थानीय तहमा आइपरेका समस्या र चुनौतीलाई सङ्घ, प्रदेश र स्थानीय तह मिलेर समाधान गर्नुपर्ने उनीहरूको जोड थियो ‘सङ्घीयताको कार्यन्वयनमा सिकाइ, स्थानीय सरकारका सवाल र आगामी कार्यदिशा’ विषयमा केन्द्रित कार्यशालामा सातवटै प्रदेशका ५५ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न गाउँपालिकाका वडाध्यक्षहरूको सहभागिता थियो ।

कार्यशालामा विज्ञहरू कृष्णप्रसाद सापकोटा, कृष्णहरि बाँस्कोटा, विष्णुदत्त गौतम र हेमराज लामिछाने सहजकर्ताका रूपमा रहेका थिए। कार्यशालामा प्रशासनिक, सेवा प्रवाह र तीनवटै तहका सरकारबीच हुनुपर्ने समन्वयका विषयमा विशेष छलफल भएको विज्ञ कृष्णहरि बाँस्कोटाले बताए।

सङ्घीयता सफल बनाउन स्थानीय सरकारको क्षमतावृद्धिमा केन्द्र सरकारले सहयोग गर्नुपर्ने, पालिकास्तरमा मालपोत तथा नापी कार्यालय स्थापना गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । कार्यशालाले तीनवटै सरकारबीच अन्तरसम्बन्ध र आपसी समन्वयका लागि नीतिगत अस्पष्टता कम गर्न आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्षसमेत निकालेको छ ।

सङ्घीयता बलियो बनाउन सङ्घ तथा प्रदेश सरकारले जिल्लामा रहेका समान खालका संरचना मर्ज गर्नुपर्ने तथा तत्काल यस्ता संरचना स्थानीय निकायमै पठाउनुपर्ने विषय उठान गरिएको थियो । साथै पुराना कानुनलाई संविधानअनुकूल बनाइ उपयोगी बनाउनुपर्नेमा सहभागीले जोड दिएका थिए ।

कार्यशालामा राष्ट्रिय सुरक्षा व्यवस्थापनका विषयमा निर्णय गर्दा स्थानीय निकायलाई जानकारी गराउनुपर्ने, सडक तथा शिक्षालगायतका विषयमा स्थानीय निकायलाई पूर्ण अधिकार दिनुपर्नेमा आवश्यकता महसुस गरिएको थियो । संविधानले प्रदत्त अधिकार कार्यान्वयनमा एकअर्कालाई हस्तक्षेप गर्न नहुने विषयसमेत सहभागीहरूले उठाएको महासङ्घका प्रमुख कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए।

कर्मचारी समायोजनका लागि निजामती ऐन लागू गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टिकृत गर्नुपर्ने, स्थानीयस्तरका कर्मचारी समायोजन प्रक्रिया वैज्ञानिक र व्यवस्थित हुनुपर्ने कार्यशालाले निष्कर्ष निकालेको छ । गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा उपाध्यक्ष लक्ष्मणबहादुर शाही, महासचिव खिमबहादुर थापालगायतले आफ्ना भनाइ राखेका थिए ।