३२ करोड कर्जा अपचलनकाे आरोपमा कामना सेवा बैंकका तत्कालीन सीइओ बस्नेतसहित ४ जना पक्राऊ

-



     सफल आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ माघ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन बस्नेतसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते बैंकिङ कसूरमा पक्राउ पुर्जी जारी भएका सीईओ बस्नेतलाई बैंकले माघ १६ गते जिम्मेवारीबाट हटाएको थियो । बैंकको दमकस्थित शाखामा कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाऊ पर्नेमा बैंकका सीइओ प्रवीन बस्नेत, हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । सीइओ बस्नेतसहित ४ जनामाथि करिब ३२ करोड रुपैयाँ कर्जा अपचलन गरेकाे आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राऊ परेका ४ जनामध्ये सीईओ बस्नेतबाहेक अन्य तीन जना कर्मचारी, भ्यालुएटर (सम्पत्ति मूल्यांकनकर्ता) र ऋणी रहेकाे बताइएको छ ।

कामना सेवा विकास बैंकका तत्कालिन सीईओ प्रविन बस्नेत

केही समय अघि वाणिज्य बैंकहरुको नियामक संस्था नेपाल राष्ट्र बैंकले ऋण अपचलन भएको भन्दै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा झापाकाे इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका अन्य तीनलाई गत माघ ११ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

यो मुद्दामा विशेष गरी ऋणीले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको भनिएकोमा अनुसन्धान गर्दा धितो भए-नभएको यकिन नभएका कारण प्रहरीले अनुसन्धान अघि बढाएको थियो । ऋणीले आफ्नो जग्गा र व्यवसाय नै धितोको रूपमा राखेका बताउँदै आएका थिए ।

अनुसन्धानका क्रममा बैंकले कर्जा लगानी गर्दा केही फाइलहरूमा मूल्यांकनभन्दा बढी प्रवाह गरेको पाइएको थियो । यसपछि बैंकको सञ्चालक समितिले छानबिन गर्दा यसो हुनुमा कर्मचारीले ऋणीसँग नै मिलेर गलत मूल्यांकन गरेको ठहर गरिएको थियो । सोही आधारमा संस्थाको हित विपरीत गई हानी पुर्‍याएको भन्दै सीईओ बस्नेतसहित चारै जनाविरुद्ध किटानी जाहेरी दिइएको थियो ।

सञ्चालक समितिको अध्ययनमा पहिलोपटक ३१ करोड रुपैयाँ ऋण प्रवाह भएको र धितोमा राखिएको भनिएको जग्गा-व्यवसाय अधिकतम् रकममा लिलामी गर्दा पनि ऋण नउठ्ने पाइएको थियो । ऋणीले हाल १४ करोड ऋण तिर्न बाँकी रहेको पाइएको छ । धितो कम राखेर ऋण प्रवाह गरेकाेले बैंकलाई ४ देखि ५ करोडसम्म घाटा हुने बैंक ब्यबस्थापनकाे अनुमान छ ।